काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री शेरबहादुर देउवासँग नजिक रहेका बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्ना दूत परिचालन गरेका छन् ।
एमालेको विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे एकता प्रस्ताव कार्यान्वयन गर्नेबारे वरिष्ठ नेता नेपाल र ओलीको तर्फबाट भेट्न आएका एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङबीच कुराकानी भएको छ ।
नेता नेपालको निवास कोटेश्वरमा डेढ घण्टासम्म भएको छलफलमा नेता नेम्वाङले एकतालाई निष्कर्षमा पुर्याउन आग्रह गरेका छन् तर नेम्वाङको आग्रहमा नेता नेपालले स्पष्ट जवाफ भने दिएनन् ।
नेपालसँगको भेटपछि नेम्वाङले भने, ‘पार्टी एकताकै बारेमा कुराकानी भयो । मैले कार्यदलको प्रस्तावबारे बताए । त्यसलाई कार्यान्वयनमा लैजानुपर्ने भएकाले तपाईं र अध्यक्षबीच भेटघाट गरेर बाँकी रहेका विषयमा सहमति खोज्दै एकतालाई निष्कर्षमा पुर्याउनुपर्छ भनें । उहाँले पोजेटिभ छु भन्नुभएको छ ।’
नेपालसँगको भेटमा नेम्वाङले कार्यदलको १० बुँदे प्रस्तावको जगमा उभिएर एकता जोगाउन आग्रह गरेको बताएका छन् । नेम्वाङको आग्रहपछि नेता नेपालले पार्टीमा समस्या आउनुको लामो कारण सुनाउँदै अध्यक्ष ओलीमाथि दोष लगाएका थिए ।
यसअघि कार्यदलका सदस्यहरूले प्रतिवेदन बुझाउँदै अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता गराउने प्रयास गरेपनि सफल हुन सकेन । एकताकै प्रयास भइरहेका बेला अध्यक्ष ओलीले नेपाल पक्षलाई आममाफी दिएको र नेपालले ओलीलाई श्री ५ महाराजाधिराज भनेपछि माहोल बिग्रिएको हो ।
यसअघि प्रतिवेदन बुझ्दै नेता नेपालले नेम्वाङ र विष्णु पौडेलसँग कुराकानी गरेर मात्रै एकताबारे ठोस जवाफ दिने बताएका थिए । बिहीवार नेम्वाङलाई भेट्न समय दिएका नेता नेपालले शुक्रवार पौडेलसँग भेट्ने तयारी गरेको जनाइएको छ ।
अध्यक्ष ओलीले आगामी शुक्रवारसम्म निष्कर्षमा पुग्न आफूपक्षीय नेतालाई निर्देशन दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।