काठमाडौं - एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको तीन वर्षसम्म बालुवाटार दिनहुँ धाउने गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो ६ महिना भने ओलीलाई भेट्न बालुवाटार गएनन् ।
नेकपा अस्तित्वमै रहेका बेला ओलीले कसैलाई नसोधी पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड बालुवाटार जान छाडेका थिए ।
दिनहुँ बालुवाटार जाने प्रधानमन्त्री ओलीसँग भेटेर फर्कने गरेका प्रचण्ड असारसम्म विरलै गए होलान् । ओलीले बोलाउँदा पनि उनी गएनन् । जब ओली सरकार ढलेर कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बन्यो, प्रचण्ड पुनः बालुवाटार जाने क्रम बढेको छ ।
हरेक दिनजसो प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न जाने गरेका छन् । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएकाले पनि प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता बाक्लिएको हो ।
प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झन्डै एक घण्टा भेटवार्ता भएको हो ।
बुधबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा तत्काल मन्त्रिमण्डल विस्तार गर्नेबारे छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री देउवाले माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा सहभागी हुने नेताहरुको नाम दिन आग्रह गरेका थिए ।
जवाफमा दुवै नेताले आफ्नातर्फबाट मन्त्री हुने नेताको नाम दिने बताएका थिए । सोहीअनुसार प्रचण्डले आज देउवालाई आफ्नो पार्टीबाट मन्त्री बनाउन लागिएका नेताहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाएको बुझिएको छ । तर, मन्त्री बन्नेको नाम सार्वजनिक भने गरिएको छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।