काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको मन्त्रिपरिषद्लाई पूर्णता दिन पाएका छैनन् । मन्त्रीको भागबण्डाबारे सत्तारुढ गठबन्धनमा छलफल चलि नै रहेको छ तर खटपट पनि सुरु भएको छ ।
बुधबार भएको गठबन्धनको बैठकमा सत्तारुढ घटकको एक दल राष्ट्रिय जनमोर्चाले असन्तुष्टि छाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले व्यवसायी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएकोमा प्रधानमन्त्रीसँग असन्तुष्टि पोखे । उनले श्रेष्ठको सट्टा अन्य नेतालाई मन्त्री बनाउनुपर्ने सुझाव दिए ।
अध्यक्ष केसीले अमेरिकी सहयोगको एमसीसी सम्झौता संसदबाट पारित गर्ने चर्चा चलेकोप्रति समेत असन्तुष्टि जनाए । एमसीसी पारित गर्ने र संघीयता मजबुत बनाउने काम गरेमा आफ्नो पार्टीले समर्थन फिर्ता लिने केसीले बताए ।
अर्काेतिर, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले समेत सरकारमा सहभागी नहुने जनाएको छ । प्रधानमन्त्री देउवालाई आवश्यक बहुमत पुर्याउन नेपाल पक्षले निर्णायक समर्थन गरेको थियो । तर नेपाल पक्ष सरकारमा सहभागी नभएपछि सरकारमा खतरा पर्नसक्ने अनुमान छ । त्यसैले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोटेश्वरमै गएर नेता नेपाललाई दिनदिनै भेट्दै आएका छन् ।
यस्तै बेला बुधबारको सत्ता पक्षीय बैठकमा नेता नेपालले आफूहरू सरकारमा सहभागी नहुने सन्देश पठाएका छन् । बालुवाटारमा कांग्रेससहित देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने विभिन्न ५ दलका नेता छलफलमा थिए । नेता नेपाल स्वयं उपस्थित नभए पनि उनका प्रतिनिधि सहभागी थिए ।
बैठकमा नेता नेपालले आफ्नो पक्षका नेता विजय पौडेलमार्फत सरकारमा सहभागी नहुने सन्देश पठाएका छन् ।
बैठकमा प्रधानमन्त्री देउवाले समर्थनमा रहेका सबै दलका नेताहरूलाई मन्त्री हुने सांसदको नाम छिट्टै पठाउन आग्रह गरेको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले यसअघि नै सरकारमा छिट्टै सहभागी हुने बताएका थिए । पार्टीको आधिकारिकता विवाद समाधानसँगै यादवले सरकारमा छिट्टै सहभागी हुने जानकारी दिएका छन् ।
कांग्रेस सभापति देउवा नेतृत्वको सरकारलाई माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा र एमालेका नेता नेपाल पक्षले समर्थन गरिरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।