काठमाडौं – नेकपा माओवादी केन्द्र प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी भएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्री छान्ने तनावमा छन् । प्रचण्डले सार्वजनिक कार्यक्रममा आफ्ना ४९ सांसदले मन्त्री बन्ने खोजेपछि तनावमा रहेको बताए ।
प्रचण्ड मन्त्री छान्ने तनावमै रहेका बेला उनीविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा परेको छ । प्रचण्डले कारबाही गरेपछि पदमुक्त भएका ४ सांसदले पुनर्बहाली गर्न माग गर्दै सर्वाेच्चमा मुद्दा दायर गरेका छन् ।
गत चैत २६ गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पत्रका आधारमा संसद सचिवालयले आफूहरूलाई सांसद पदबाट मुक्त गर्ने गरी गरेको निर्णय संविधान, ऐन र माओवादीको विधानविपरीत भएको भन्दै परमादेशबाट सांसद पदमा पुनर्बहाली गरिदिन रिट निवेदनमा माग गरिएको छ ।
सांसदहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभू साह र गौरीशंकर चौधरीले दायर गरेको रिटमा आफूले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरु माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सभामुखले आफूहरूको सदस्यता खारेज गरेको निर्णय बदरभागी हुनुपर्ने माग गरिएको छ ।
निर्वाचन आयोगको विवरणमा एमालेको सदस्यका रुपमा आफूहरुको नाम नरहेको र एमालेको कति नम्बर सदस्य भनेर आफूहरुलाई कारवाही गर्ने पक्षले देखाउन समेत नसकेको भन्दै सफाइको मौका नदिई गरिएको कारबाही उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरिएको छ ।
पार्टी केन्द्रीय कमिटीले गर्नुपर्ने निर्णय गैरकानूनी तरिकाले अध्यक्ष प्रचण्डले मात्र गरेको र विधानले अध्यक्षलाई दिएको ५ वटा अधिकारमा प्रतिनिधिसभा सदस्यको पद खारेज गर्ने अधिकार नरहेको रिट निवेदनमा उल्लेख गरिएको छ ।
राजनीतिक दल सम्बन्धी ऐनको दफा ३२ ले दल त्याग भएको पुष्टि हुनुपर्ने भनेको र दल त्याग गरेको पुष्टि हुने कुनै प्रमाण नरहेको समेत रिट निवेदनमा उल्लेख गरिएको छ ।
अध्यक्ष प्रचण्ड विरुद्धको सर्वोच्च अदालतले रिटमाथिको सुनुवाईका लागि बिहीवारका लागि पेशी तोकेको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।