काठमाडौं - ओरालो लागेको गाईको बाच्छोलाई मृगले पनि खेद्छ भन्ने उखान अहिले एमाले अध्यक्ष केपी ओलीमा लागू भएको छ ।
आफ्नै सनकका कारण दुई तिहाइ बहुमतको सरकार गुमाएर सडकमा आइपुगेपछि अहिले उनलाई कसैले पनि महत्व दिन छाडेका हुन् ।
सधैं केही न केही गरेर, बोलेर चर्चामा आइरहने ओली १३ दिनदेखि बालकोटमै सीमित बनेका छन् । बालकोटमा एमालेका ओली पक्ष त्यसमा पनि उनलाई ‘केपी बा’ भनेर सम्बोधन गर्ने मात्र पुग्ने गरेका छन् ।
केही दिन उनी बालकोटबाट ललितपुरको च्यासलमा आए । पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा सहभागी भए ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा एकपटक पुगे । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगे । त्यसयता उनी बालकोटमै सीमित भएका छन् ।
कतिसम्म भने उनले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर पार्टीको विवाद मिलाउन धेरै प्रयास गर्दै आएका छन् । तर, उनलाई भेट्न माधव नेपालले चासो नै देखाएका छैनन् ।
एमालेको ओली पक्षले केन्द्रीय कमिटी र स्थायी कमिटी बैठकले १० बुँदे सहमतिको प्रस्ताव अनुमोदन गरिसकेको छ । तर नेता नेपालले स्वीकार नगरेसम्म त्यो कार्यान्वयनमा आउँदैन । केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएर नयाँ सरकार गठन गरेपछि माधव नेपाल बलियो बनेका छन् । एमालेमा पनि उनी बलियो छन् ।
सोही कारण अहिले उनले ओलीलाई बेवास्ता गर्दै आएका छन् । माधवले ओली युद्धमा हारेको सिपाही भएकाले उनलाई भेट्नुको कुनै अर्थ नभएको भन्दै पन्छिने गरेका छन् । जसकारण योगेश भट्टराई, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टले सात दिनदेखिको प्रयास असफल बनेको छ ।
ओलीले नेपाल समूहका नेताहरूलाई कहिले स्पष्टिकरण सोध्ने गरेका छन् भने कहिले आममाफी दिएँ भन्ने गरेका छन् । जसको माधव नेपालले कडा आलोचना गरेका छन् । यही बीचमा शनिवार साँझ बालुवाटारमा बसेको सत्तापक्षीय गठबन्धनमा नेता माधव नेपाल पनि सामेल भएपछि ओली आक्रोशित भएका छन् ।
देउवालाई प्रधानमन्त्री बनाउन निर्णायक सहयोग गरेका नेता नेपाल र उनको समूह अहिले राजनीतिमा शक्तिशाली देखिएको छ । सर्वोच्च अदालतको किटानी आदेशबाट सत्ताच्यूत भएका ओलीको शक्ति भने निरन्तर ओरालो लाग्दै आएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।