काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच फेरि एकताको प्रयास भइरहेको छ । तर दुबै पक्षमा रहेको तिक्तता मेटिएको छैन ।
बिहीबारको एमाले केन्द्रीय कमिटी बैठकले नेता माधवकुमार नेपाललाई होच्याउने निर्णय गरेको छ । एमालेले माधव नेपाल सहितका नेतालाई आममाफी दिने निर्णय गरेर होच्याउन खोजेको छ ।
आज बिहीवार बसेको केन्द्रीय कमिटी बैठकले पार्टी एकताका खातिर बाटो बिराएका नेतालाई क्षमा दिने निर्णय गरको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई पार्टी एकताको प्रयासमा निरन्तर छलफल भइरहेकाले कारबाही नहुने उनले बताए । नेता माधव नेपालसहित केही सांसदले प्रस्टीकरण समेत दिइसकेका छन् ।
प्रवक्ता ज्ञवालीले एमाले अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालबीच तुलना हुनै नसक्ने बताए । ‘पार्टीको जनमत कांग्रेस पाउमा बुझाउनेसँग कसरी तुलना हुन्छ,’ उनले भने । एमाले विरोधी प्रवृत्तिबाट बाहिर निस्किए क्षमा गरिने ओलीले बैठक धारणा राखेको ज्ञवालीले जानकारी दिए ।
यसैबीच, एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता गर्ने तयारी भएको छ । दोस्रो तहका नेताहरूको पहलमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता हुन लागेको छ । दुई नेताबीच कुनै पनि बेला भेटवार्ता हुनसक्ने एमाले संसदीय दलका उपनेता समेत रहेका ओली पक्षीय नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।
नेता नेपाल पक्षका अर्का नेताले समेत दुवै शीर्ष नेताबीच भेटवार्ताको तयारी भइरहेको जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।