काठमाडौं - अघिल्लो केपी ओली सरकारले एमाले नेता झलनाथ खनालको उपचारका लागि कानुनविपरीत ३० लाख रुपैयाँ निकासा गरेको रहस्य खुलेको छ ।
सरकारले विदेशमा उपचार गराउने व्यक्तिका लागि उपचार खर्च नदिने कानुन बनाएको थियो । तर त्यो कानुन लत्याउँदै ओली सरकारका अर्थमन्त्री विष्णु पौडेलले आफ्नो पार्टीका नेता खनालको उपचारमा ३० लाख रुपैयाँ परराष्ट्र मन्त्रालयमार्फत निकासा गरेको पाइएको परराष्ट्र स्रोतले जनाएको छ ।
नेता खनालको अहिले भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार भइरहेको छ । उनको दुवै मिर्गौला फेल भएकाले प्रत्यारोपणको तयारी भएको छ । मिर्गौला प्रत्यारोपणका लागि दाता नेपालबाट नयाँ दिल्ली पुगिसकेको बुझिएको छ ।
निवर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले खनालको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको थियो ।
२ असोज ०७५ देखि लागू भएको जनस्वास्थ्य ऐनको दफा ३० मा ‘प्रचलित कानुनमा जुनसुकै कुुरा लेखिएको भएता पनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोका लागि लाग्ने खर्च नेपाल सरकारले उपलब्ध गराउने छैन’ भनिएको छ ।
पूर्ववर्ती सरकारका कतिपय निर्णय उल्टाए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले खनालको उपचार खर्चसम्बन्धी गैरकानुनी निर्णयलाई कायम राखेका छन्। प्रधानमन्त्री देउवाले खनालको उपचारमा सरकारले सहयोग गर्ने आश्वासन दिएपछि उनको आलोचनासमेत भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई, लाई भेट्न खुमलटार पुगेका देउवाले पूर्वप्रधानमन्त्री खनालसँग पनि टेलिफोनमा कुराकानी गरेका थिए । त्यसक्रममा उनले खनाललाई ‘उपचार गरेर आउनुस्, सरकारले सहयोग गर्छ’ भनेर बचन दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।