काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार बनाउन सहयोग गर्ने दलहरुप्रति आक्रोश पोखेका छन् ।
देउवा सरकारले विश्वासको मत पाएको भोलिपल्ट सोमवार बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै ओलीले पार्टीका नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतप्रति आक्रोश पोखे ।
बैठकमा ओलीले कांग्रेस विगतदेखि नै आफैं आक्रमण गर्ने, आफंै मुद्दा हाल्ने प्रवृत्तिको पार्टी भएको आरोप लगाएका छन् । ओलीले आफ्नो नेतृत्वको सरकार बहिर्गमनपश्चात बनेको गठबन्धनको देउवा सरकारलाई ‘टालाटुली’को संज्ञा दिएका छन् ।
‘अब सत्ताको दुरुपयोग गरेर हामीमाथि हमला सुरू गर्छन् । देउवाले लिएको विश्वासको मत कवाडीको रिसाइकलबाट भाडाकुँडा बटुलेर बनेको टालाटुली बाटुली कति राम्री पुतली भन्ने खालको हो,’ उनले भने ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेता नेपाललाई ‘विषवृक्ष’को संज्ञा दिएका छन् । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका नेपालप्रति आक्रोशित अध्यक्ष ओलीले भने, ‘पार्टीमा उहाँलाई सम्मान भएन रे ! विषवृक्षलाई अझै सम्मान ?’
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति प्रहार गर्दै ओलीले भने, ‘माओवादी शिथिल छ । नत्र ऊ पनि अपराधको कर्मबाट आएको पार्टी हो । हुन त प्रतिपक्ष कसरी अगाडि बढ्छ भन्ने कुरा हो । विगतलाई फर्केर हेर्दा हामी आवश्यकताअनुसार परिआए जुझारु ढंगले सशक्त प्रतिवाद गर्न तयार हुनुपर्छ ।’
बैठकमा अध्यक्ष ओलीले पार्टी उपाध्यक्ष भीम रावलको प्रशंसा गरेका छन् । अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भन्दै प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएका एमाले उपाध्यक्ष रावलले देउवालाई विश्वासको मत नहालौं पार्टी एकताबद्ध बनाउनभन्दा नेता नेपालले ‘म विधि निर्णय मान्दिनँ एक्लै भए पनि भोट हाल्छु’ भनेर हप्काएर पठाएको ओलीले बताए ।
ओलीले रावललाई आग्रह गर्दै भने, ‘हतारिएर किन राजीनामा दिएको ? सल्लाह गर्नुपर्ने ? अझै पनि सकिन्छ भने राजीनामा फिर्ता लिनू ।’
नेकपा एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टी निर्णयविपरीत फ्लोर क्रस गरेर विश्वासको मत दिएको भन्दै उनीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरणको जवाफ पेश गर्न भनिएको छ ।
ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा सोमवार बसेको एमाले केन्द्रीय कमिटी बैठकले उनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । एमाले सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी निर्णयविपरीत फ्लोर क्रस गरेर विश्वासको पक्षमा मतदान गर्ने २२ जना सांसदसँग स्पष्टीकरण सोध्ने निर्णय भएको बताएका छन् ।
नेकपा एमालेको संसदीय दल र स्थायी कमिटी बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने निर्णय गरेको थियो । पार्टी निर्णयविपरीत विश्वासको पक्षमा मतदान गरेपछि बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीले बताएका छन् । मंगलवार बस्ने केन्द्रीय कमिटीको बैठकले बाँकी प्रक्रिया अघि बढाउने ज्ञवालीले जानकारी दिए ।
बैठकले पार्टी भित्रको विवाद समाधानका लागि गठित कार्यदलले अघि सारेको १० बुँदे प्रस्ताव अनुमोदन गरेको छ । गल्ती स्वीकार गरी पार्टीमा फर्कन चाहनेलाई अन्तिम अवसर दिने निर्णय समेत बैठकले गरेको प्रवक्ता ज्ञवालीले बताएका छन् ।
यी सांसदलाई सोधियो स्पष्टीकरण –
१. माधवकुमार नेपाल
२. विरोध खतिवडा
३. मेटमणि चौधरी
४. गोपाल बम
५. भवानी खापुङ
६. कलिला खातुन
७. मुकुन्द न्यौपाने
८. रामकुमारी झाक्री
९. प्रेम आले
१०. विनादेवी बुढाथोकी
११. किसान श्रेष्ठ
१२. समिना हुसेन
१३ कल्याणी खड्का
१४. सरला यादव
१५. धनबहादुर बुढा
१६. लक्ष्मी चौधरी
१७. जीवनराम श्रेष्ठ
१८. पुष्षाकर्ण कायस्थ
१९. निरा जैरु
२०. पार्वती विसंखे
२१. हिराचन्द्र केसी
२२. कृष्णलाल महर्जन
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।