काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेकपा एमालेका सांसदसहित प्रतिनिधि सभाको बहुमतले विश्वासको मत दिएको छ ।
सर्वाेच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना भएपछि बसेको पहिलो दिनको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले राखेको विश्वासको मत लिने प्रस्तावको पक्षमा बहुमत प्राप्त भएको छ ।
प्रतिनिधि सभामा बसेको कूल २४९ मतमध्ये १६५ सांसदले प्रस्तावको पक्षमा मतदान गरेका छन् भने विपक्षमा ८३ र तटस्थमा १ मत खसेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री देउवाले विश्वासको मत पाएको घोषणा गरेका छन् ।
नवनियुक्त प्रधानमन्त्री देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनमोर्चाले समर्थन गरेको छ । देउवालाई नेकपा एमालेको केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षका २२ सांसदले समेत विश्वासको मत दिएका छन् ।
यसअघि नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत मागेका थिए । नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिएपनि हुनेमा देउवा प्रधानमन्त्री नियुक्त भएको ४ दिनमै मत लिएका छन् । विश्वासको मत लिने प्रक्रियामा देउवाले सबै दललाई विश्वासको मत दिन आग्रह गरेका थिए ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बहुमत सांसदहरू सर्वाेच्च अदालत गएका थिए । अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।
देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिएसँगै सर्वाेच्च अदालतको फैसला सही ठहर भएको छ भने राष्ट्रपति भण्डारीले सुरुमै देउवालाई प्रधानमन्त्री नियुक्त नगर्नु गलत निर्णय रहेको प्रमाणित भएको छ ।
विश्वासको मत पाएसँगै प्रधानमन्त्री देउवाले अब आगामी निर्वाचनसम्मै सरकार चलाउन पाउने छन् । प्रधानमन्त्री नियुक्त भएको २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने संवैधानिक व्यवस्था छ । चालू प्रतिनिधि सभाको कार्यकाल अब लगभग १७ महिना बाँकी रहेको छ । त्यसपछि प्रतिनिधिसभा आवधिक निर्वाचन हुनेछ ।
यी हुन् देउवालाई मत दिने एमालेका सांसदहरू
१. माधवकुमार नेपाल
२. विरोध खतिवडा
३. जीवनराम श्रेष्ठ
४. कल्याणी खड्का
५. मेटमणि चौधरी
६. मुकुन्द न्यौपाने
७. पार्वती बिशंखे
८. हिरा केसी
९. कृष्ण श्रेष्ठ (किसान)
१०. गोपाल बम
११. प्रेम आले
१२. धनबहादुर बुढा
१३. विना बुढाथोकी
१४. सरला यादव
१५. पुष्पा कर्ण
१६. लक्ष्मी चौधरी
१७. निरा जैरु
१८. रामकुमारी झाँक्री
१९. कलिला खान
२०. सविना हुसेन
२१. कृष्णलाल महर्जन
२२. भवानी खापुङ्ग
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।