काठमाडौं - एमाले वरिष्ठ नेता माधवकुमार नेपालले १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदे सहमतिप्रति असहमति जनाएका छन् । नेपालको सो असहमतिसँगै कार्यदलले तयार पारेको सहमति अलपत्र परेको छ ।
एमाले अध्यक्ष केपी ओलीले शुक्रबारको स्थायी कमिटी बैठकबाट १० बुँदे सहमतिलाई स्वीकृति दिँदै कार्यदल भंग गरेका थिए । कार्यदल गठन हुँदा ओली र माधव नेपालले स्वीकृति दिए मात्रै कार्यान्वयनमा आउने उल्लेख थियो ।
आइतबार बिहान आफूपक्षीय कार्यदलका सदस्यसँगको छलफलमा नेता नेपालले असहमति जनाएका हुन् । आइतबार बिहान पार्टी विवाद मिलाउन र एकता कायम राख्न भन्दै कार्यदलका सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, रघुजी पन्तसहित नेपाल निवास कोटेश्वर पुगेका थिए ।
माधव नेपालले १० बुँदे सहमतिलाई अस्वीकार गरेपछि एमाले अध्यक्ष केपी ओली तनावमा परेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने दिन नै माधव नेपालले कार्यदलले तयार पारेको सहमति अस्वीकार गर्नुमा पार्टी विभाजन गर्ने षड्यन्त्र भएको बालकोटको बुझाई छ ।
कार्यदलका सदस्य शंकर पोखरेलले १० बुँदे सहमतिमा माधवकुमार नेपालले असहमति जनाएको सार्वजनिक गरेका हुन् । नेपालले अस्वीकार गर्नेवित्तिकै कार्यदलको सहमति कार्यान्वयनमा नआउने भएको छ । ‘माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसंगै तीन महिनाको मेहनत खेर गयो,’ पोखरेलले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।