काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीदेखि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गर्दै आएकी नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले पार्टीमा विद्रोह गरेकी छन् ।
प्रतिनिधिसभा सांसद समेत रहेकी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनु कर्तव्य भएको खुला घोषणा गरेकी छन् ।
सामाजिक सञ्जालमा लेख्दै सांसद झाँक्रीले देउवालाई समर्थन गर्न मिल्ने भए संस्थागत निर्णय गर्नुपर्ने अडान लिइन् ।
झाँक्रीले लेखेकी छन्, ‘हामीले ७६(५) को प्रधानमन्त्रीको लागि संघीय संसदका माननीय सदस्य माननीय शेरबहादुर देउवालाई समर्थन गरेका थियौं । १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरु सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन पुगेका हौं । अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो । सकिन्छ, नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौं ।’
संस्थागत निर्णय गर्न नसकिए संसदको पूरा कार्यकाल सञ्चालन गर्न सबैले विवेक प्रयोग गरी देउवाको पक्षमा भोट हाल्नुपर्ने आग्रह उनले गरेकी छन् ।
उनले अगाडि लेखेकी छन्, ‘त्यो पनि भएन भने हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो । हामीले विश्वासको मतको पक्षमा भोट हाल्ने छौं ।’
नवनियुक्त प्रधानमन्त्री देउवाले आज आईतबारै संसदमा विश्वासको मत लिने तयारी गरेका छन् । ओली र नेता माधवकुमार नेपाल पक्षका कतिपय नेताहरू पार्टी एकताको प्रयास गरिरहेका बेला सांसद झाँक्रीको अभिव्यक्तिले एमालेमा उथलपुथल मच्चिएको छ । नेपाल पक्षले देउवालाई विश्वासको मत दिएमा एमाले औपचारिक रुपमा विभाजित हुने चर्चा छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।