आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमाले एकताको ‘रिमोर्ट कन्ट्रोल’ प्रचण्डको कब्जामा ! ओली–नेपाल पुनर्मिलन टरेकै हो ?

एमाले एकताको ‘रिमोर्ट कन्ट्रोल’ प्रचण्डको कब्जामा ! ओली–नेपाल पुनर्मिलन टरेकै हो ?

  • मिडिया डबली
  • आइतवार, श्रावण ३ २०७८

  • 5.5K
    SHARES

  • एमाले एकताको ‘रिमोर्ट कन्ट्रोल’ प्रचण्डको कब्जामा ! ओली–नेपाल पुनर्मिलन टरेकै हो ?

    काठमाडौं – नेकपा एमालेको आन्तरिक विवाद कायमै रहेका बेला स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक तय भएको छ ।

    एमाले अध्यक्ष केपी ओली पक्षले आईतवार स्थायी कमिटी र सोमवार केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

    केन्द्रीय कमिटीको एजेन्डा तय गर्न आईतवार बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाइएको छ । स्थायी कमिटीको शुक्रवार बसेको बैठकले विवाद निरूपण सम्बन्धी कार्यदलले प्रस्ताव गरेका सहमतिका बुँदालाई अनुमोदन गर्नुका साथै कार्यदल खारेज गरेको छ । 

    बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय समेत गरेको छ । ओली पक्षले फेरि आईतवार स्थायी कमिटी र सोमवार केन्द्रीय कमिटीको बैठक राखेर नेपाल पक्षलाई अप्ठ्रोमा पार्न खोजेको छ ।

    वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुले सबै बैठक रोकेर ओली र नेपालबीच संवाद गराउन चाहिरहेका छन् तर ओली र नेपाल दुबै संवाद नगरी अघि बढ्ने मूडमा रहेका छन् ।

    ‘हामीले दुबै नेताहरुबीच संवाद गरेपछि मात्र पार्टीको बैठक राख्न अनुरोध गरेका थियौं तर अध्यक्ष ओलीले शुक्रवार स्थायी कमिटीको बैठक बोलाउनुभयो । फेरि आईतवार स्थायी कमिटी र सोमवार केन्द्रीय कमिटीको बैठक बोलाउनुभएको छ । संसदीय दल र स्थायी कमिटीको बैठकबाट देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गराउनुभयो । यी गतिविधि हेर्दा अध्यक्ष ओलीले नेता नेपालको साथ नचाहेको देखियो,’ कार्यदलमा रहेका एक सदस्यले भने ।

    नेता नेपालले कार्यदलका सदस्यहरुले १० बुँदे सहमतिमा हस्ताक्षर गरेपछि ५ दलीय गठबन्धनमा नरहने घोषणा गरेकै बेला ओलीले एमालेमा नेपालको कुनै पनि स्थान नभएको अभिव्यक्ति दिए । त्यसले सप्रिन लागेको वातावरण बिग्रियो । त्यसपछि नेता नेपालले आफूनिकट केन्द्रीय सदस्य विजय पौडेललाई गठबन्धनको बैठकमा पठाएर गठबन्धनमा कायमै रहेको सन्देश दिए ।

    ‘ओलीले निरन्तर बैठक राखेर नेपाललाई पेलेर अघि बढ्न चाहेका छन् । नेपालले पनि ओलीलाई देखाउन ५ दलीय गठबन्धनमा रहेको सन्देश दिएका छन्,’ कार्यदलमा रहेका ती सदस्यले भने । ती सदस्यका अनुसार दुबै नेताहरुले आफूहरु आ–आफ्नो अडानबाट टसमस नभएको सन्देश दिइरहेका छन् । तर पनि कार्यदलमा रहेका १० सदस्यसहित पृथ्वीसुब्बा गुरुङ र योगेश भट्टराईले सहमति कायम गराउन शनिवार लामो छलफल गरेका छन् । उनीहरुले ओली र नेपाललाई अलग–अलग भेटेर पार्टी एकता कायम राख्न आग्रह गर्ने भएका छन् ।

    त्यसैअनुसार कार्यदल सदस्यहरुले शनिवार साँझ ओलीलाई भेटिसकेका छन् भने आईतवार बिहान नेपाललाई भेट्दैछन् । 

    ‘१० बुँदे सहमति कार्यान्वयन गर्दा एमालेको एकता जोगिन्छ भन्नेबारेमा हामीले छलफल गरेका छौं,’ ओली पक्षका नेता नेम्वाङले भने । उनले सर्वोच्च अदालतको फैसलामा असहमति हुँदाहुँदै पनि मानेर जाने विषयमा विमति नरहेको बताएका छन् ।

    नेपाल पक्षका नेता गोकर्ण बिष्टले भने पार्टीलाई एक बनाउन १० बुँदे सहमति कार्यान्वयनको विकल्प नभएको बताएका छन् । कार्यदलमा रहेका दुबै पक्षका नेताहरूले शनिवार सिंहदरबारमा छलफल गरिरहेका बेला कोटेश्वरस्थित नेपाल निवासमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुगेका थिए । प्रचण्डले वर्तमान सरकारलाई जोगाएर अघि बढ्नुपर्ने विषयमा नेपालसँग कुरा गरेका थिए । 

    सर्वोच्च अदालतले संविधानको धारा ७६(५) अनुसार सरकार बनाउँदा सांसदलाई पार्टीका ह्वीप नलाग्ने भनेको छ । यसै आदेशमा टेकेर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिनुपर्ने विषयमा नेपाल–प्रचण्डबीच कुराकानी भएको स्रोतले बतायो । नेता नेपालले देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिने आश्वासन दिएको स्रोतको दाबी रहेको छ ।

    ‘प्रतिनिधिसभा पुनःस्थापना र ओलीको विकल्पमा सरकार बनाउन नेता नेपालको भूमिका रहेकाले देउवा सरकारलाई विश्वासको मत दिनु नैतिक दायित्व हो । त्यसकारण पनि देउवाले विश्वासको मत पाउँछन्,’ नेपालनिकट एक सांसदले भने ।

    नेपाल पक्षका सांसद विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री लगायतले सरकारलाई विश्वासको मत दिने बताउँदै आएका छन् ।

    नेपाल पक्षका केही नेता ५ दलीय गठबन्धन र प्रचण्डसँगको भेटघाटबाट उनलाई टाढा राख्नुपर्ने बताउँछन् । नेपाल ५ दलीय गठबन्धन र प्रचण्डसँग निकट बन्दै गएपछि ओलीले एकलौटी रुपमा बैठकहरु डाकेर पेल्न थालेको बुझाइ नेपाल पक्षका नेताहरुको छ ।

    ‘जब हामीले पार्टी मिलाउने कुरा गर्न सुरु गर्छौं, तब प्रचण्ड नेपाललाई भेट्न कोटेश्वर पुग्छन् । यसको पछाडि केही न केही कारण हुनसक्छ,’ एमाले कार्यदलमा रहेका नेपाल निकट एक सदस्यले भने । 

    ती सदस्यका अनुसार दोस्रो पुस्ताका नेताहरु पार्टी मिलाउने पहलमा जुटिरहेका बेला कुनै न कुनै बहाना बनाएर प्रचण्डले नेपाललाई भेट्ने गरेका छन् । ‘यसले पार्टी एकताको वातावरण बिग्रेको अवस्था छ,’ विगत कोट्याउँदै कार्यदलमा रहेका ती सदस्यले भने । 

    ती सदस्यका अनुसार ओली र नेपाल सहमतिभन्दा एकले अर्कोलाई गलाएर झुकाउने रणनीतिमा लागेका छन् । तर दुबै नेता नझुक्दा विवाद निरुपणभन्दा झन् जटिल बन्दै गएको दाबी ती सदस्यको छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend