काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक अध्यक्ष केपी शर्मा ओलीले पर्सि सोमबार बोलाएका छन् ।
केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा देखिएका एमाले सांसदबारे कठोर निर्णय लिनसक्ने स्रोतले जनाएको छ ।
पर्सि सोमबार बस्ने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न भोलि आईतबार बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाइएको कार्यालय सचिव शेरबहादुर तामाङले बताएका छन् ।
एमालेको असार १८ र १९ गतेमा बसेको केन्द्रीय कमिटी बैठकले पार्टी एकताका पक्षमा उभिन माधव नेपाल पक्षलाई शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको समर्थन फिर्ता लिन अल्टिमेटम दिएको थियो । तर नेपाल पक्षले अल्टिमेटम अनुसार हस्ताक्षर फिर्ता लिएन ।
हस्ताक्षर फिर्ता नलिएपछि सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्यो । अध्यक्ष ओलीले अदालतको फैसला आएको भोलिपल्ट केन्द्रीय कमिटी बैठक बस्ने पूर्व निर्णय भए पनि पार्टी एकताको लागि प्रयास गर्ने भन्दै राखिएको थिएन ।
आगामी केन्द्रीय कमिटी बैठकले १० बुँदे सम्झौतालाई अनुमोदन गर्दै देउवा सरकारलाई विश्वासको मत नदिन सबै सांसदहरूलाई निर्देशन दिने सम्भावना रहेको छ । तर नेता माधव नेपालले देउवालाई विश्वासको मत दिने तयारी गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।