काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेर सरकार गठन भएपछि अब मन्त्रालयको भागबण्डाबारे छलफल चलिरहेको छ ।
प्रधानमन्त्री नियुक्त भएकै दिन देउवाले नेपाली कांग्रेसका २ र माओवादी केन्द्रका २ मन्त्री नियुक्त गरिसकेका छन् ।
कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला मन्त्री तथा माओवादीबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेकी छन् ।
नेपालको संविधान अनुसार सरकार २५ सदस्यीय बनाउन पाइन्छ । जसमा १ जना प्रधानमन्त्री हुने भएकाले २४ मन्त्री राख्न पाइन्छ । २४ मध्ये ४ मन्त्री नियुक्त भइसकेकाले अब २० मन्त्री नियुक्त गर्न पाइनेछ ।
बाँकी रहेका मन्त्रालयमा देउवाले नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षलाई समेत समेट्न योजना बनाएका छन् । १ मात्रै सांसद रहेको राष्ट्रिय जनमोर्चाले सरकारमा सहभागी नहुने र देउवा सरकारलाई समर्थन गर्ने निर्णय गरिसकेको छ ।
एमालेको नेपाल समूह र जसपाको यादव समूहले समेत देउवालाई समर्थन गरेपनि सरकारमा सहभागी हुनेबारे निर्णय गरिसकेका छैनन् । तर देउवाले दुवै पक्षलाई सरकारमा ल्याउन चाहेका छन् । खासगरी एमालेको नेपाल पक्षलाई सरकारमा ल्याउन कांग्रेस त्याग गर्न समेत तयार रहेको देउवानिकट स्रोतले जनाएको छ ।
नेपाल पक्ष सरकारमा नआए कांग्रेसले आफूसँग ५०% मन्त्रालय राख्ने देउवाको तयारी छ । बाँकी ५०% मन्त्रालयमा माओवादीलाई ३०% र जसपालाई २०% मन्त्रालय दिने हिसाबकिताब बुढानिलकण्ठले तयार पारेको छ । तर उपेन्द्रले महन्थ ठाकुर पक्षका सांसदलाई आफूतिर तान्न सकेमा थप केही मन्त्रालय दिन सकिने विकल्प समेत देउवाले खुला राखेका छन् ।
एमालेको माधव नेपाल पक्ष सरकारमा आउन तयार भए देउवा ठूलो त्याग गर्न समेत तयार छन् । नेपाल पक्ष सरकारमा आएमा राष्ट्रिय सहमतिको सरकार बन्ने भएकाले नेपाललाई जसरी पनि सरकारमा ल्याउनतिर देउवाले जोड दिएका छन् ।
नेपाल पक्ष सरकारमा आएमा आफूसँग ३–४ मन्त्रालय मात्रै राख्न पनि देउवा तयार छन् । नेपाललाई धेरै मन्त्रालय दिएर भएपनि फकाउने रणनीति देउवाको रहेको स्रोतले जनाएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत चुनावका बेला धोका दिएकाले देउवाले यसपालि नेता नेपाललाई बढी महत्त्व दिने र प्रचण्डलाई थोरै मन्त्रालय दिने भएका छन् ।
सर्वाेच्च अदालतको फैसलापछि बालुवाटारबाट बाहिरिर निजी निवास बालकोट पुगेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अब एमालेमा नेपाललाई कुनै स्थान नरहेको बताएका छन् । एमालेमा ओलीले ठाउँ नदिने भएपछि नेपालले छुट्टै पार्टी खोल्ने, सरकारमा जाने र चुनावमा कांग्रेस र माओवादीसँग तालमेल गर्ने विषयमा छलफल गरिरहेको स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।