काठमाडौं – सरकारबाट बाहिरिनुपरेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले पार्टी विभाजन गरेर एमालेका सांसदलाई मन्त्री बनाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेता माधवकुमार नेपालबीच छलफल भएको छ ।
बुधबार दुबै नेताबीच भएको भेटमा देउवाले नेपाल पक्षलाई सरकारमा सहभागी गराउन आग्रह गरेका छन् । नेपाल निवास कोटेश्वरमा नै पुगेर प्रधानमन्त्री देउवाले एमाले फुटाएर भएपनि सरकारमा आउन मन्त्री बनाउन आग्रह गरे ।
आवश्यक परेको खण्डमा पार्टी विभाजनका लागि आवश्यक कानूनी तारतम्य मिलाइदिन सक्ने आश्वासन प्रधानमन्त्री देउवाले नेपाललाई दिएका स्रोतले जनाएको छ ।
‘म तपाईंको अप्ठ्यारो फुकाउन तयार छु । तपाईंले मलाई सहयोग गर्नुभएको छ । म पनि तपाईंलाई सहयोग गर्छु । जसरी संसद जोगाउनका लागि हामी सँगै अदालत गयौं, भोलि पनि संसद जोगाउन सँगै रहनुपर्छ । तपाईं एमालेमा रहन नसक्ने भए दल विभाजन गर्न आवश्यक कानूनी प्रबन्ध मिलाउन पनि तयार छु,’ देउवाले नेपाललाई भने ।
बुधबार बालुवाटारबाट बाहिरिएर निजी निवास बालकोट पुगेका ओलीले एमालेमा माधव नेपालका लागि ठाउँ नरहेको अभिव्यक्ति दिएका छन् । यसरी अब एमालेमा विवाद चर्किने देखिएको छ ।
सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि ओली आक्रोशित बनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।