काठमाडौं – नेकपा एमालेभित्र चर्किएको विवाद समाधानका लागि गठित कार्यदलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सहमति जुटेको छ ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको ७ घण्टा लामो बैठकले पार्टीका २ पक्षबीच सहमति गरेको जनाइएको छ ।
बैठक सकिएपछि बाहिरिँदै एमाले सचिव प्रदीप ज्ञवालीले कार्यदलमा सहमति भइसकेको दाबी गरे । बैठकपछि प्रतिक्रिया दिँदै नेता ज्ञवालीले कार्यदलका नेताहरू सहमतिमा पुगेको दाबी गरेका छन् । ‘केही भाषिक परिमार्जनका स–साना काम छन्, हामी भोलि फेरि बैठक बसेर मिलाउने छौं,’ उनले भने, ‘आजको वैठक निकै लामो, सौहार्द र सघन भयो । झण्डै ७ घण्टाको वैठकपछि पार्टीको एकतालाई सुदृढ गर्ने सम्बन्धमा सहमतिमा पुगेका छौं ।’
दुबै पक्षबीच भएको सहमतिको दस्तावेजलाई अन्तिम रूप दिन भाषिक परिमार्जनका लागि भोलि शनिबार फेरि बैठक बस्ने ज्ञवालीले बताए । पार्टीमा भएको सहमतिका बुँदा थाहा पाउन १८ घण्टा मात्रै बाँकी रहेको ज्ञवालीले जानकारी दिए । १८ घण्टापछि एमालेको सहमतिको पूर्ण विवरण सार्वजनिक गरिने उनले बताए । शनिबारको बैठक कति बजे बस्ने भन्नेबारे यकिन नभएको जनाइएको छ ।
कार्यदलमा रहेका नेता गोकर्ण विष्टले समेत अधिकांश विषयमा सहमति भइसकेको र केही विषय मात्रै बाँकी रहेको जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।