आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अकस्मात किन रोकियो एमाले एकता घोषणा ? यसरी भयो गडबडी !

अकस्मात किन रोकियो एमाले एकता घोषणा ? यसरी भयो गडबडी !

  • मिडिया डबली
  • शुक्रवार, आषाढ २५ २०७८

  • 5.3K
    SHARES

  • अकस्मात किन रोकियो एमाले एकता घोषणा ? यसरी भयो गडबडी !

    काठमाडौं – सत्तारुढ दल नेकपा एमालेको कार्यदलका सदस्यहरुबीच बिहीवार एकता प्रक्रिया टुंगो लगाउने भन्दै दिनभर नै दौडधुप भयो ।

    अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबाट संयुक्त रुपमा एकताको सन्देश दिने तयारी कार्यदलको थियो ।

    त्यहीअनुरूप गृहकार्यमा दुबै पक्ष जुटे पनि । बिहान आधा घण्टामा कार्यदलको बैठक स्थगन गरी बेलुका ७ बजे बसेर टुंग्याउने सहमति भएको थियो ।

    सहमतिको खाका तयार भयो । कार्यदलका सबै सदस्य पनि सहमत भए । दुबै पक्षका नेताले बिहीवार निष्कर्षमा पुग्ने दाबी गरेका थिए । अध्यक्ष ओली र वरिष्ठ नेता नेपालमार्फत एकताको घोषणा गराउने भनिरहेका थिए । 

    नेपाल पक्षका नेता एकता निष्कर्षमा पुग्ने विषयमा अझ उत्साहित भएका थिए । नेता गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे एकता निष्कर्षमा पुगेको भन्दै अभिव्यक्ति दिइरहेका थिए ।

    कार्यदल संयोजक भीम रावल पनि छिट्टै टुंगोमा पुग्नेमा विश्वस्त थिए । संस्थापन पक्षका कार्यदल संयोजक सुवासचन्द्र नेम्वाङ बिहीवारै निष्कर्ष पुग्ने जोडबल भइरहेको बताइरहेका थिए ।

    कार्यदलकै प्रयासमा बुधवार साँझ अध्यक्ष ओली र नेपालबीच भेटवार्ता गराइएको थियो । 

    कार्यदलले ४ दिनदेखि दिनहुँ बैठक बसेर एकताको प्रयास गरिरहेको थियो तर बिहीवार साँझ एकता घोषणा हुने भन्ने विषय एकाएक स्थगन भएको छ । शक्ति बाँडफाँटका विषयमा कुरा नमिलेपछि एकताको घोषणा हुन नसकेको स्रोतले बतायो ।

    भेटवार्तामा नेपालले ओलीसमक्ष आगामी दिनमा हुने हरेक निर्णय २ नेताबीचको सहमतिमा हुनुपर्ने, पार्टीमा महत्त्वपूर्ण जिम्मेवारी आफूलाई दिनुपर्नेलगायत विषयमा ठोस सहमति हुनुपर्ने प्रस्ताव गरेको बताइएको छ ।

    कार्यदल तहमा सबै तहका पार्टी र जनसंगठनका कमिटीहरू सम्पूर्ण हिसाबले पूर्ववत् अवस्था (०७५ जेठ २ गते) मा फर्काएर क्रियाशील रहने भन्ने विषयमा सहमति भइसकेको छ । एमाले र माओवादी केन्द्रबीच एकताका समयमा थपिएका ३८ जना र माओवादी केन्द्रबाट आएका रामबहादुर थापा ‘बादल’सहित २३ जना व्यवस्थापनका विषयमा भाषा मिलाउनेबाहेक सहमति भइसकेको छ । 

    संस्थापन पक्षका कार्यदल संयोजक नेम्वाङले आफूलाई शक्ति बाँडफाँटको विषय थाहा नभएको बताएका छन् । ‘कार्यदलमा त्यो विषय नै आएको छैन, यो अनावश्यक हल्ला मात्रै हो,’ नेम्वाङले भने ।  

    बैठकपछि कार्यदल सदस्य एवं एमाले उपमहासचिव घनश्याम भुसालले १० दिनयता खासै प्रगति नभएको बताइदिएर एकता आशामा रहेका कार्यकर्तालाई निराश बनाइदिए । भुसालले भने, ‘पहिला जे थियो त्यही नै छ । अनौपचारिक छलफल गरेर हामीले १० दिन अगाडि केही एजेण्डाहरु तय गरेका थियौं । गएको १० दिनदेखि हामीले विभिन्न कारणले खास, ठोस, मूर्त योगदान गर्न सकेका छैनौं ।’

    नेम्वाङले ३ वर्षदेखिको विवादलाई ९–१० दिनमा यो अवस्थामा ल्याइपुर्‍याउनु पनि ठूलो कुरा भएको बताएका छन् । उनले भने, ‘शुक्रवार टुंगोमा पुग्नेमा आशावादी छौं ।’

    नेता भुसालको १० दिनदेखि जहाँको त्यही रहेको भनी दिएको प्रतिक्रियाका सम्बन्धमा नेम्वाङले त्यो पनि सही भएको बताए । ‘निष्कर्षमा नपुग्दासम्म स्थिति यस्तै छ,’  उनले भने ।

    नेम्वाङले प्रगति हुन नसके पनि शुक्रवार बिहान साढे ११ बजेपछि बस्ने बैठकले सकारात्मक निष्कर्ष निकाल्ने विश्वास व्यक्त गरे । संस्थापन पक्षका नेम्वाङ, विष्णु पौडेल, प्रदीपकुमार ज्ञवाली, शंकर पोखरेल, विष्णु रिमाल छन् भने नेता नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्त, घनश्याम भुसाल रहेका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend