काठमाडौं – सत्तारुढ दल नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक बिहीबार दिउँसो बसेर २ निर्णय गरेको छ ।
कार्यदलमा भएका सहमतिलाई अन्तिम रूप दिएर साँझ ७ बजे फेरि बस्ने गरी बैठक स्थगित भएको छ ।
बैठकले पार्टी भित्रका विवादहरूलाई समाधान गर्न आन्तरिक छलफलमा जुट्ने र बैठक ७ बजेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको नेता सुवासचन्द्र नेम्वाङले बताएका छन् ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीच देखिएका समस्या समाधान गर्नेबारे छलफल भएको थियो ।
बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्त, भीम आचार्य र ओली पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य शंकर पोखरेल, विष्णु रिमाल गरी ११ जनाको उपस्थिति रहेको थियो ।
अध्यक्ष केपी शर्मा ओली पक्षबाट कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले बिहीबारै सहमतिको घोषणा हुनसक्ने जानकारी दिए ।
बैठक आन्तरिक तयारीका लागि स्थगित गरिएको छ । अहिले दुवै पक्ष छुट्टाछुट्टै छलफलमा जुटेका जनाइएको छ । ओली पक्ष प्रधानमन्त्री कार्यालयमा छलफलमा जुटेको जनाइएको छ ।
कार्यदलले ओली र नेता माधवकुमार नेपाल पक्षमा सहमतिको प्रयास गरिरहेको छ । कार्यदलकै प्रयासले बुधबार साँझ ओली र नेपालबीच भेटवार्ता भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।