काठमाडौं – सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच तिक्ततापूर्ण ५६ दिनपछि बुधवार भेटवार्ता भएको छ ।
शीर्ष वार्ताका लागि एकता कार्यदल र दोस्रो पुस्ताका कतिपय नेताले निकै ठूलो मेहनत गरेका थिए । यसले मेरियट होटलमा २ नेतालाई भेटाएको छ ।
यसअघि समेत ओली र नेपालको बीच भेटवार्ताको प्रयास गरिएको थियो तर नेपालले अस्वीकार गर्दै आएका थिए । लगातार ३ दिनदेखि भएको कार्यदलको बैठकपछि २ दिनको भेटवार्ता सफल भएको छ ।
भेटवार्तामा पार्टीलाई १ बनाउन २ नेताबीच ‘वान टु वान’ वार्ता भएको छ । गत वैशाख ३० गते बूढानिलकण्ठमा २ नेताबीच करीब ४ घण्टा संवाद भएको थियो ।
भेटवार्तामा ठोस सहमति नभए पनि वार्ता सकारात्मक भएको दुबै पक्षका नेताले बताएका छन् । भेटवार्तामा माधव पक्षका कार्यदल संयोजक भीम रावल र सुरेन्द्र पाण्डे तथा संस्थापन पक्षका महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलको सहभागिता रहेको थियो ।
छलफलमा सहभागी कार्यदलका सदस्य पाण्डेले वार्ता सकारात्मक भएको बताएका छन् । माधव पक्षका नेता पाण्डेले ओली र नेपालबीच एक्लाएक्लै वार्ता भएको बताए । वार्तामा सहभागी माधव पक्षका कार्यदल संयोजक रावलले पार्टी एकतालाई निष्कर्षमा पुर्याउन दुबै नेता सकारात्मक रहेका दाबी गरेका छन् । रावलका अनुसार बिहीवार कार्यदलको बैठकपछि ओली र नेपालबीच पुनः वार्ता हुनेछ ।
‘समग्रतामा पार्टी एकतालाई कसरी अगाडि बढाउने, सकारात्मक परिणाम कसरी ल्याउने भनेर छलफल भएको छ । पुनः कुराकानी हुनेछ । हामीले समस्याका विषयमा गम्भीर रुपमा कुराकानी गर्नुपर्ने आवश्यकता बोध गर्दै आएका छौं । अब कार्यदलबीच छलफल हुनेछ,’ उनले भने ।
संस्थापन पक्षका तर्फका कार्यदल संयोजक सुवासचन्द्र नेम्वाङले कार्यदलको सुझाव र प्रयासबाट नै २ शीर्ष नेताबीच भेटघाट सम्भव भएको बताएका छन् । नेम्वाङले आफू भने भेटवार्तामा नरहेको बताए । ‘हाम्रो गृहकार्य दौरानले नै भएको हो,’ उनले भनेका छन् ।
२०७७ फागुन २३ गते एमाले र माओवादी ब्युँतिएपछि ४ पटक मात्रै ओली र नेपालको भेटवार्ता भएको छ । फागुन २८ गते संस्थापन पक्षले एकतर्फी बैठक बसाएर केन्द्रीय कमिटीलाई भंग गरी दशौं महाधिवेशन आयोजक समिति बनाएको थियो ।
अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेल मात्रै राखी अन्य सबैको पदाधिकारी खारेज गरिएको थियो । महाधिवेशन आयोजक समिति असार १६ गते भंग गरिएको छ ।
त्यसपछि चैत ५ र ७ गते बोलाएको केन्द्रीय कमिटीको बैठक अगाडि चैत २ मा ओली र नेपालको धुम्बाराहीस्थित तत्कालीन पार्टी मुख्यालयमा भेटवार्ता भएको थियो तर भेटवार्ता कुनै निष्कर्षमा नपुगेपछि माधव पक्षले चैत ४ र ५ गते आफू पक्षीय राष्ट्रिय कार्यकर्ता भेला गरी समानान्तर गतिविधि थालेको थियो ।
२०७८ बैशाख ८ गते होटल मेरियटमा २ नेताबीच भेटवार्ता भएको थियो । पार्टी अध्यक्ष ओलीले माधव नेपालसहित २७ जना प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेको भोलिपल्ट २ नेताबीच वार्ता भएको थियो । बैशाख ८ गतेको वार्ताले कुनै उपलब्धि हासिल गरेको थिएन ।
करीब डेढ महिनापछि गत असार २० गते अध्यक्ष ओली र उपाध्यक्ष रावलबीच छलफल भएपछि कार्यदल ब्युँतियो । त्यसपछि कार्यदल पार्टी एकतामा निरन्तर लागिरहेको छ ।
यसबीच मध्यमार्गी दोस्रा तह नेता पार्टी एकताको लागि निरन्तर लागिरहेका थिए । उनीहरुकै प्रयासमा महाधिवेशन आयोजक समिति भंग भयो र कार्यदल ब्युँतियो । ओली र नेपालबीच सुरूआतमा टेलिफोनमा कुराकानी गराएर संवादहीनताको अन्त्य गरियो । विपक्षी गठबन्धनमा सक्रिय नेता नेपाल पछिल्लो दिनमा गठबन्धन बैठकमा पनि गएका छैनन् ।
बुधवार २ नेताबाट औपचारिक नै भेटवार्ता भएको छ । उनीहरुको भेटवार्ताले पार्टी एकताका लागि सकारात्मक सन्देश दिएका संस्थापन तर्पmका कार्यदल संयोजक नेम्वाङले बताए ।
विवादित सबै विषयमा करीब–करीब सहमति भइसकेको र त्यसलाई भाषामा कसरी ढाल्ने भन्ने विषय मात्रै टुंग्याउन बाँकी रहेको कार्यदलका सदस्य तथा पार्टी सचिव गोकर्ण विष्टले बताएका छन् । ‘केन्द्रीय कमिटीको सख्यामा जे विवाद थियो, त्यसमा समाधान खोज्ने, नेकपा माओवादीको तर्फबाट नेकपा एमालेमा एकता ताका रहेका साथीहरुको व्यवस्थापन गर्ने विषयमा पनि समाधान खोज्ने भन्ने सहमति हो,’ विष्टले भने, ‘जुन भाषामा सहमति खोज्नुपथ्र्यो, त्यस सन्दर्भमा हामी धेरै हिसाबले नजिक आइपुगेको छौं ।’
जेठ २ गते एमालेको केन्द्रीय कमिटी २०३ सदस्यीय थियो, जेठ ३ गते एमाले र माओवादी केन्द्र एकताका भएपछि ३८ थपेर २४१ सदस्यीय बन्यो । नेकपा बन्दा थपिएका ३८ र पूर्व माओवादी केन्द्रबाट आएका रामबहादुर थापा ‘बादल’ सहित २३ जनाको व्यवस्थापनमा दुबै पक्ष सहमति नजिक पुगेको विष्टले बताए । यो विषयलाई मिलाउन कार्यदललाई धेरै सकस पर्दै आएको थियो ।
विष्टले प्रतिनिधिसभा विघटन र अदालतमा परेको मुद्दाको विषयमा पनि समाधान खोज्न धेरै हिसाबले नजिक पुगेको दाबी गरेका छन् । ‘सबै समस्या समाधानका हिसाबले नजिक पुगेका छौं, यसलाई भाषामा ढाल्न मात्रै बाँकी रहेको छ,’ उनले भनेका छन् ।
२ शीर्ष नेताको बैठकअघि कार्यदलमा २०७५ जेठ २ गतेको अवस्थामा पार्टी र जनसंगठनका सबै तहका कमिटीलाई पूर्ववत् अवस्थामा फर्काएर क्रियाशील बनाउन सहमति भएको थियो । सर्वोच्च अदालतले समेत कर्णाली प्रदेशका सांसदको पुनर्बहालीको क्रममा पार्टीको संरचनालाई जेठ २ गतेको अवस्थामा फर्काइसकेको छ । यो आदेशले पनि कार्यदललाई सहमति नजिक पुर्याएको छ ।
विवाद देखिएका मुद्दामा समाधान नजिक पुगेको कार्यदल सदस्य बताउँछन् । कार्यदलको ३ दिनको प्रयासले छोटो अवधिमा समस्या समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाउन र सार्थक परिणाम प्राप्त गर्न सकिन्छ भन्ने विश्वास आर्जन भएको विष्टले बताएका छन् । विष्टले अविश्वासको खाडल पनि कम भएको दाबी गरेका छन् ।
संस्थापन पक्षका कार्यदल संयोजक सुवासचन्द्र नेम्वाङले पनि छलफल सकारात्मक ढंगले अघि बढेको बताए । नेम्वाङले पार्टी एकताका लागि विभिन्न तहमा भएका प्रयासबारे अध्यक्ष ओली र नेता नेपालसँग परामर्श गरेर कार्यदल टुंगोमा पुग्ने बताएका छन् ।
‘अहिले जे जति तयारीहरु भएका छन् त्यसलाई अझ परिष्कृत गर्न थप गृहकार्य आवश्यक छ भन्नेमा हामी पुग्यौं,’ नेम्वाङले भने, ‘तयारीको सिलसिलामा अध्यक्ष केपी ओली र अर्का वरिष्ठ नेता नेपाललगायत सबैसँग कुरा गर्दै उहाँहरुको समेत फिडब्याक लिएर टुंगोमा पुग्ने प्रयास गरेका छौं ।’
दुबै पक्षलाई ‘विन’ ‘विन’ हुने गरी भाषा मिलाएर टुंगोमा पुर्याउने तयारी भइरहेको उनले बताएका छन् ।
नेता नेपाल पक्षका कार्यदल सदस्य सुरेन्द्र पाण्डेले विवाद टुंगिन धेरै दिन नलाग्ने बताएका छन् । पाण्डेले सर्वोच्च अदालतको फैसला आउनुअघि नै टुंगो लागिसक्ने बताएका छन् । असार २८ गते सर्वोच्चले प्रतिनिधिसभा विघटनसम्बन्धी फैसला गर्नेछ । पाण्डेका अनुसार पार्टीका सबै संरचना नवांै महाधिवेशनकै अवस्थामा फर्किने विषयमा सहमति भएको छ ।
नेता नेपाल पक्ष २३ निवर्तमान सांसदले विपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षरको बहस नै सकिएकाले औचित्य नहुने हुँदा फैसलापछि एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेकामा दुबै पक्ष सकारात्मक देखिएका छन् ।
संस्थापन पक्षले हस्ताक्षर फिर्ता गर्नुपर्ने र माधव पक्षले विघटन गलत हो भन्नुपर्ने अडान राख्दै आएका थिए । स्थायी समिति सदस्य पाण्डेले हस्ताक्षर फिर्ताको विषय गौण भएको भन्दै फैसलापछि एकजुट भएर जाने बताएका छन् ।
संस्थापन पक्षका नेता पार्टी प्रवक्ता तथा कार्यदलका सदस्य प्रदीपकुमार ज्ञवालीले बिहीवार नै टुंगोमा पुग्ने विश्वास व्यक्त गरेका छन् । ‘अहिले दुबैतर्फ नेताहरुसँग उहाँहरुका कुरा, भावना बुझ्ने काम पनि भइरहेको छ, अहिलेसम्मका छलफल सकारात्मक भएको हुँदा बिहीवारसम्म टुंग्याउने गरी लाग्छौं,’ उनले भने ।
असार २० गते पार्टी अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच वार्तापछि ब्युँतिएको कार्यदलले निरन्तर एकताका लागि गृहकार्य गरिरहेको छ । कार्यदल ब्युँतिनुअघि पनि दोस्रो तहका नेताहरु पार्टी एकतामा लागि निरन्तर क्रियाशील रहँदै आएका थिए । उनीहरुबीच भएको सहमतिलाई मूर्तरुप दिने काम भइरहेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।