काठमाडौं – सत्तारुढ दल नेकपा एमालेमा देखिएको विवाद समाधानका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भएको वार्ता सकिएको छ ।
राजधानी काठमाडौंको मेरियट होटलमा वार्ता सकेर ओली र नेपाल बाहिरिएका छन् ।
होटलबाट बाहिरिँदै नेता नेपालले सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन् ।
एमाले विवाद समाधान कार्यदलकै सदस्यबीच भएको सहमति र छलफलका आधारमा ओली र नेपालबीच भेटवार्ता सम्भव भएको थियो । पछिल्लो समय ओली र नेपालबीच विवाद धेरै चर्किएको थियो ।
बैठकमा ओली पक्षबाट कार्यदल संयोजक सुवासचन्द्र नेम्वाङ र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा नेपाल पक्षबाट भीम रावल र नेता सुरेन्द्र पाण्डे सहभागी रहेका थिए ।
बैठकमा कार्यदलका संयोजकहरूले ३ दिनयता भएको छलफल र सहमतिबारे जानकारी गराएका छन् । कार्यदलमा भएको सहमतिलाई अन्तिम टुंगो दिएर विवाद टुंग्याउन घनिभूत छलफल भएको स्रोतले जनाएको छ ।
बुधवार दिउँसो अर्थ मन्त्रालयमा बसेको एमाले विवाद समाधान कार्यदलको बैठकपछि नेताहरूले विवाद समाधान हुनेतर्फ अगाडि बढेको जानकारी दिएका थिए । एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले कार्यदल भित्रको छलफल सकारात्मक निष्कर्षउन्मुख रहेको जनाएका थिए ।
नेता नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेपछि ओली आक्रोशित हुँदा विवाद उत्कर्षमा पुगेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।