काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग विवाद भएर नेता माधवकुमार नेपाल छुट्टै हिँडिरहेका छन् ।
एमालेमा रहेको विवादबारे नेपाल मात्रै होइन, छिमेकी देश समेत जानकार छन् । उत्तरी छिमेकी चीनबाट कम्युनिस्ट पार्टीभित्र देखिएको विवाद समाधानका लागि टोली नै नेपाल आएको थियो ।
यतिबेला अध्यक्ष ओलीसँग एमालेको आधिकारिकता छ । तर नेता नेपाल समेत उत्तिकै प्रभावशाली रहेका छन् । यस्तो बेला उत्तरी छिमेकी चीनले नेता नेपाललाई महत्त्व नदिएको देखिएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले आयोजना गरेको राष्ट्रपति सी चिनफिङ सम्मिलित भर्चुअल कार्यक्रममा नेता नेपाललाई निम्तो नै दिइएन । कार्यक्रममा अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेता सहभागी भएका थिए ।
अन्तर्क्रिया कार्यक्रममा नेता नेपाललाई निम्तो नै नगरिएको उनको सचिवालयले जनाएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निम्तो भए पनि उनी सहभागी भएनन् । चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको १०० वर्ष पुगेको अवसरमा नेपालका प्रमुख राजनीतिक दलका साथै विश्वका नेताहरूसँग सीले भिडियोमार्फत अन्तर्क्रिया गरेका हुन् ।
कार्यक्रममा कांग्रेस सभापति देउवाले उपस्थित नभई पूर्व परराष्ट्रमन्त्री समेत रहेका सहमहामन्त्री डा. प्रकाशशरण महतलाई कार्यक्रममा खटाइएको थियो ।
कार्यक्रममा सीपीसीका महासचिव सी चिनफिङले जनताको कुरालाई केन्द्रमा राख्नुपर्ने बताए । सीले राजनीतिक दलहरुले जनताको आवाज सुनेर समस्या समाधानमा जोड दिएका बताएका छन् ।
उनले शान्तिपूर्ण विकास नै सीपीसीको स्थिर लक्ष्य भएको बताए । सम्बोधनमा सीले विभिन्न देशका राजनीतिक दलहरूलाई नेतृत्व गर्ने जिम्मेवारी वहन गर्न, जनताको आवाज सुन्न र विभिन्न देशहरूलाई मानवजातिको साझा भविष्यको साथ एक समुदाय निर्माणको दिशामा अगाडि बढ्न आह्वान गरे ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।