काठमाडौं – सत्तारुढ दल एमालेमा देखिएको आन्तरिक विवाद समाधानका लागि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले जारी गर्ने संयुक्त वक्तव्यको मस्यौदा तयार पारिएको छ ।
वरिष्ठ नेता नेपालले यसअघि बनेको कार्यदल ब्युँताउनुपर्ने र कार्यदलबाट आएको धारणालाई स्वीकार गर्ने बताएपछि सोमवार साँझ अध्यक्ष ओलीले कार्यदल ब्युँताएका हुन् ।
त्यसलगत्तै कार्यदलले मस्यौदा तयार गरी दुबै नेताहरुलाई इमेलमा पठाएको छ । सोमवार साँझ सिंहदरबारमा बसेको कार्यदलको बैठकले पार्टीको विवाद सकिएको र पार्टी एकढिक्का भएको सन्देश दिन २ नेताबाट संयुक्त वक्तव्य आउनुपर्ने अपरिहार्यतालाई महसूस गर्दै त्यसको मस्यौदा दुबै नेतालाई इमेल गरेको छ । सोमवार कार्यदल ब्युतिएसँग एमालेको विवाद समाधानउन्मुख देखिएको छ ।
यसअघि अध्यक्ष ओली पक्षबाट ५ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट ५ गरी १० सदस्यीय कार्यदल बनाइएपनि २ पटकभन्दा बढी बैठक नबसी कार्यदल निष्क्रिय बनेको थियो ।
रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय सभाको निर्वाचनमा पराजय भोगेपछि ओलीले कार्यदलको बैठक बस्न नदिई निष्क्रिय बनाएका थिए । जेठ ७ गते बस्ने भनिएको कार्यदल बैठक त्यसपछि बस्न सकेको थिएन । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन र कार्यदलमा रहेका भीम रावल लगायतलाई कारबाही गरेपछि औपचारिक संवाद अवरुद्ध भएको थियो ।
नेपाल पक्षका २३ सांसदले विपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि कार्यदल कुनै पनि प्रकारको औपचारिक संवाद हुन सकेको थिएन । त्यसअघि कार्यदलको २ पटकसम्म बैठक बसेको थियो । तर त्यो बैठकमा केही विषयमा पनि सहमति जुट्न सकेको थिएन ।
कार्यदल ब्युँतिएपछि सोमवार साँझ सिंहदरबारमा बसेको बैठकले यसअघि भएका अनौपचारिक छलफलमा उठेका विषयलाई आपसमा बुझ्ने र लिपिबद्ध गर्ने निर्णय गरिएको छ । ‘अनौपचारिक संवादका क्रममा जे–जति प्रगति भएको छ, त्यसलाई लिपिबद्ध गर्ने र ओली–नेपाल दुबै नेतालाई त्यसबारे जानकारी दिएर अघि बढ्ने सहमति भएको छ,’ कार्यदलमा सहभागी पार्टीका सचिव गोकर्ण विष्टले भने । उनका अनुसार हालसम्म सबै विषय समेटिएकाले पार्टीको विवाद समाधानउन्मुख रहेको छ ।
आईतवार बिहान ओली पक्षका नेताहरुले नेपाललाई भेटेर पार्टीको विवाद मिलाउन र त्यसको अग्रसरता लिन आग्रह गरेका थिए । उनीहरुले दुबै नेतालाई भेटेर संयुक्त वक्तव्य दिन समेत आग्रह गरेका थिए । जवाफमा नेपालले ओलीसँग तत्कालै भेटघाट गर्न अरुचि देखाएका थिए भने विवाद मिलाउने भए पुरानो कार्यदल ब्यँुताएर काम थाल्न आग्रह गरेका थिए । त्यसपछि आईतवार साँझ ओलीले भीम रावललाई बोलाएर छलफल गरेका थिए ।
छलफलमा ओलीले रावलसँग हस्ताक्षर फिर्ताको विषय उठाएको भएपनि रावलले त्यो सम्भव नभएको तर पार्टीभित्रको विवाद मिले अदालतको आदेशलाई कार्यान्वयन गरेर जाने विषयमा आफूहरु सकारात्मक रहेको बताएका थिए । त्यसक्रममा ओलीले आफ्नो पक्षका साथीहरुसँग कुराकानी गर्न पनि सुझाव दिएका थिए ।
आईतवार साँझ ओलीसँग भेटघाट भएको त्यहाँ भएको विषयमा थप छलफल गर्न सोमवार बिहान रावल नेपाल निवास कोटेश्वर पुगेका थिए । नेपालसँगको छलफलपछि मात्रै कार्यदल ब्युँतिएर काम सुरू गरिएको हो । सोमवारको कार्यदलमा यसअघि अनौपचारिक छलफलमा भएका विषयहरुलाई औपचारिकता दिने सर्वोच्च अदालतमा परेको रिट निवेदन र हस्ताक्षरबारे दुबै पक्ष मौन बस्ने, त्यहाँबाट आएको आदेशलाई पार्टी हितमा कार्यान्वयन गर्ने र सहमति जुटाएपछि ओली–नेपाल भेटघाट गरी संयुक्त वक्तव्य दिने विषयमा छलफल भएको हो ।
‘यसअघिकै छलफलमा ओली–नेपालको संयुक्त वक्तव्यको मस्यौदा तयार भएको छ । त्यसमा थप छलफल गर्नुपर्ने र सच्याउनुपर्ने भए मात्र भनेर हामीले कार्यदलका सबै सदस्य र २ नेताहरुलाई मस्यौदा पठाएका छौं,’ यसअघि अनौपचारिक संवादमा रहेका एक नेताले भनेका छन् ।
ती नेताका अनुसार ओलीले केन्द्रीय कमिटीको बैठक रोकेको भए सायद हालसम्म २ नेता भेटघाट भएर संयुक्त वक्तव्य पनि आइसकेको हुने थियो ।
गत बिहीवार राति ओली–नेपालबीच भएको टेलिफोन कुराकानी फलदायी नभएपछि शुक्रवार ओलीले केन्द्रीय कमिटीको बैठक अघि बढाएका हुन् । बैठकमा अध्यक्ष ओलीले नेपाल पक्षका नेताहरुलाई सोमवार साँझसम्म हस्ताक्षर फिर्ता नगरेर एमालेको सदस्य हुन नसक्ने भन्दै चेतावनीयुक्त भाषण मात्रै गरेनन्, सोमवारसम्म हस्ताक्षर फिर्ता गर्न परिपत्र समेत जारी गरेका थिए । तर नेपाल पक्षका नेताहरुले पार्टीको आन्तरिक विवाद र सर्वोच्च अदालतमा परेको रिट निवेदन र त्यसमा गरिएको हस्ताक्षरको कुनै सम्बन्ध नभएकाले हस्ताक्षर फिर्ता नहुने र त्यो कुनै शर्त लागू नहुने अडान कायमै राखेका छन् ।
नेपाल पक्षको अडानपछि शनिवार पुनः नेपाल र ओलीबीच टेलिफोन संवाद भएको थियो । संवादमा ओलीलाई नेपालले केन्द्रीय कमिटीको बैठक रोकेर कार्यदल ब्युँताएर काम गर्न आग्रह गरे पनि ओलीले मानेका थिएनन् । आईतवार ओली पक्षका नेताहरुले नेपालसँग कुराकानी गर्दा पनि कार्यदलले ल्याएको प्रस्तावलाई स्वीकार गर्नु नै वैधानिक बाटो भएको बताएपछि ओलीले बाध्य भएर सोमवार कार्यदल ब्युँताएका छन् ।
कार्यदलमा ओली पक्षबाट संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरु प्रदीपकुमार ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् भने नेपाल पक्षबाट उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् । कार्यदलको बैठक मंगलवार १ बजे पुनः बस्ने भएको छ ।
नेकपा एमाले अध्यक्ष ओलीले फागुन २८ गते आफूखुशी आफूनिकटका केन्द्रीय सदस्यलाई मात्रै राखेर बनाएको महाधिवेशन आयोजक कमिटी खारेज भएर साविकको केन्द्रीय कमिटी बैठक ब्युँताएका थिए । सो कमिटी ब्युताएसँग नेपाल लगायत ११ नेतालाई गरिएको कारबाही समेत प्रभावहीन बनेको थियो ।
केन्द्रीय कमिटी ब्युँताए पनि ओलीले पुनः विधि मिचेर बैठक राख्ने लगायत एकतर्फी कार्य गरेपछि नेपालले पक्षले बैठकमा सहभागिता नजनाउने अडान लिएको थियो । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।