काठमाडौं – नेकपा एमालेमा विवाद चर्किएका बेला असन्तुष्ट नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई फकाउन नेपाल निवास कोटेश्वर पुगेका अध्यक्ष केपी शर्मा ओलीका दूतहरू ‘फेल’ भएर फर्किएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको विपक्षी गठबन्धनबाट फर्काएर एमालेमै ल्याउने प्रयास असफल भएको हो ।
एमाले पार्टी एकताका लागि वार्ता गरिरहेका नेताहरुले आईतवार बिहान नेपाललाई भेटेर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन बिन्ती गरेका थिए । तर नेता नेपालले हस्ताक्षर फिर्ता लिनै नसकिने अडान लिँदै देउवाको पक्षमा उभिएका छन् ।
पार्टी उपमहासचिव विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ र शंकर पोखरेल नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । ओलीका दूत बनेर गएका नेताहरूले ओलीसँग वार्ता गरेर एमालेमै फर्किन आग्रह गरेपनि नेता नेपालले हस्ताक्षर फिर्ता नलिने अडान लिएका छन् ।
‘हामीले उहाँलाई भेटेर आग्रह गरेका छौं । तपाईंहरु २ नेता मिल्नुस्, मिल्नुको विकल्प छैन, भनेका छौं । अध्यक्षले भेटेर कुरा गर्न खोज्नुभएको छ, तपाईं कुरा गर्नुस् भन्यौं तर उहाँले कुनै प्रतिक्रिया जनाउनुभएन,’ नेम्वाङले भने । यसअघि ओलीले नै एमाले बैठकमा आउन गरेको आग्रह नेता नेपालले ठाडै अस्वीकार गरिदिएका थिए ।
नेता नेपाल निवासमै उपमहासचिव घनश्याम भुसाल समेत रहेका थिए । भुसालले नै वार्ताको वातावरण बनाइरहेका भएपनि सहमति जुट्न सकिरहेको छैन ।
नेता नेपालले सर्वोच्चमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने र एमालेका सांसदको समर्थन देउवालाई छैन भनेर अदालतमा लेखेर पठाउने उद्देश्यले ओलीले जालझेल गर्न खोजेको आरोप लगाउँदै आफू विपक्षी गठबन्धनबाट पछि नहट्ने स्पष्ट अडान लिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।