काठमाडौं – सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनका लागि पार्टीपंक्तिलाई तयारी अवस्थामा राख्न नेताहरूलाई निर्देशन दिएका छन् ।
नेपाली कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनको तागत सशक्त रहेको र नेता माधवकुमार नेपाल पक्ष देउवासँगै रहने भएपछि ओली झस्किएका हुन् ।
बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले एमाले पार्टी र एमाले नेतृत्वको सरकारविरुद्ध षड्यन्त्र भइरहेकाले आन्दोलनको आवश्यकता रहेको बताएका छन् ।
ओलीले बैठकमा भने, ‘एमाले र एमाले सरकारका विरुद्ध षड्यन्त्रपूर्ण ढंगले गतिविधि भइरहेका छन् । हाम्रै पार्टीका साथीहरू पनि एमालेलाई सिध्याउन लागिपर्नुभएको छ । यो षडयन्त्रलाई चिर्नका लागि हामीले आन्दोलनका मैदानमा पनि जानुपर्ने अवस्था आउन सक्छ ।’
आन्दोलन गर्नुपर्ने परिस्थित बन्दै गएको आभास भइरहेको बताउँदै ओलीले सिंगो पार्टीपंक्तिलाई तयारीमा अवस्था राख्नुपर्ने निर्देशन दिए । पार्टीको विभिन्न मोर्चामा रहेका नेतालाई आन्दोलनको तयारीमा लाग्न उनले निर्देशन दिए ।
एमाले बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका पार्टीका पूर्व सांसदलाई सर्वोच्चको फैसला आउनुअघि नै सच्चिन समेत निर्देशन दिएको छ । अदालतको फैसलाअघि हस्ताक्षर फिर्ता नगर्नेलाई कारवाही गरिने चेतावनी एमालेले दिएको छ ।
आज शनिबार बसेको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले देउवाको पक्षमा हस्ताक्षर गरेकालाई सर्वोच्चको फैसलाअघि सच्चिन मौका दिइने बताएका एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताएका छन् ।
थापाले सञ्चारकर्मीलाई जानकारी दिँदै भने, ‘एमालेको चौधौं बैठक प्रतिनिधिसभा विघटन सम्बन्धी सर्वोच्चको फैसला गरेको भोलिपल्ट बस्नेछ । देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिलाई निवेदन दिएका र सर्वोच्चमा हस्ताक्षर गरेका पूर्व सांसदलाई फैसला हुनुअघिसम्म सच्चिन समय दिएको छ । त्यतिञ्जेल सच्चिनेहरू सच्चिनुपर्छ, अध्यक्षज्यूले दोबाटो त्यतिञ्जेलसम्म मात्र हो भनेर बैठकलाई जानकारी गराउनुभएको छ, ।’
एमालेले कात्तिक २६ र मंसिर ३ गते हुने प्रतिनिधिसभा निर्वाचन तथा फागुनमा हुने स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न नता कार्यकर्तालाई निर्देशन दिएको छ । बैठकले साउन २५ देखि २७ गतेसम्म काठमाडौंमा विधान अधिवेशन गर्ने निर्णय गर्दै त्यसका लागि राजनीतिक प्रतिवेदन लेखनको जिम्मा अध्यक्ष ओलीलाई दिएको छ ।
संगठनात्मक प्रतिवेदन पेश गर्न महासचिव ईश्वर पोखरेल, विधान संशोधन प्रस्ताव पेश गर्न संगठन विभाग प्रमुख विष्णु पौडेल र व्यवस्थापनको जिम्मा नेता रामबहादुर थापालाई जिम्मा दिइएको छ ।
बैठकमा मन्तव्य राख्दै अध्यक्ष ओलीले नेपाल पक्षले वार्ताको नाममा आफूहरुलाई अल्मल्याउने काम गरिरहेको आरोप लगाएका छन् । शुक्रबार सुरू बैठकले देउवाको पक्षमा हस्ताक्षर गरेका माधव नेपाल पक्षलाई सोमवार साँझ ५ बजेसम्मको समय दिएको थियो ।
यसैबीच, बैठकमा प्रभावशाली युवा नेता महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओली अब प्रधानमन्त्री बन्नै नपाउने प्रस्ताव ल्याएका छन् । नेता बस्नेतले २ पटक प्रधानमन्त्री बनिसकेको व्यक्ति तेस्रोपल्ट प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव ल्याएका छन् । बस्नेतको प्रस्ताव पारित भएमा २ पटक प्रधानमन्त्री बनिसकेका ओली फेरि प्रधानमन्त्री बन्न पाउने छैनन् ।
एमाले केन्द्रीय सदस्य तथा युवा इञ्चार्ज बस्नेतले संघीयता र धर्म निरपेक्षताबारे समेत समीक्षा हुनुपर्ने प्रस्ताव बैठकमा गरेका छन् । बस्नेतले धर्मनिरपेक्षताबारे बहस गरेर मुलकको विशिष्ठ पहिचानको घोषणा हुनुपर्ने प्रस्ताव गरेका छन् ।
बस्नेतले बैठकमा राखेको ८ बुँदे प्रस्तावमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहने गरी संविधान संशोधन हुनुपर्ने र २ कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नपाइने उल्लेख गरिएको छ ।
बस्नेतले पार्टी अध्यक्ष पनि २ कार्यकालभन्दा बढी हुन नपाइने र ३ कार्यकालभन्दा बढी पार्टीको पदाधिकारी हुन नपाइने प्रस्ताव समेत गरेका छन् । पार्टी र राज्यका पदमा युवाको ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने प्रस्ताव समेत गरिएको छ ।
बस्नेतले पार्टीको महाधिवेशनको राजनीतिक प्रतिवेदन र विधान तथा चुनावको घोषणा पत्रमै यी विषयको सम्बोधन गर्न केन्द्रीय कमिटीबाट कार्यदल बनाउन माग समेत गरे ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।