काठमाडौं – सत्तारुढ दल नेकपा एमालेमा विवाद चर्किएका बेला नेता माधवकुमार नेपाल पक्ष विना नै पार्टी अगाडि बढ्ने देखिएको छ ।
एमालेको शनिबार बसेको बैठकले आगामी साउन २५ देखि २७ गतेसम्म विधान महाधिवेशन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनबारे निर्णय गरेको छ ।
विधान महाधिवेशनअघि असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण गर्ने र साउन ५ गतेसम्म केन्द्रीय कार्यालयमा पार्टी सदस्यताको अन्तिम नामावली दिने निर्णय भएको जनाइएको छ ।
यसअघि, सत्तारुढ दल नेकपा एमालेभित्र विवाद मिलाउन सक्रिय भएका अध्यक्ष ओली र नेपाल पक्षका दोस्रो तहका नेताहरूबीच ठोस सहमति हुन सकेको थिए । ललितपुरको कुपण्डोलस्थित समिट होटेलमा भएको औपचारिक छलफलमा एकता प्रक्रियाका लागि निरन्तर छलफलमा रहने सहमति मात्रै भएको थियो ।
छलफललाई जारी राखेर शीर्ष नेताहरूलाई संवादका लागि प्रयत्न गर्ने सहमति भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । सहमतिको प्रयत्न अन्तर्गत अध्यक्ष ओली र नेता नेपालबीच आज शनिबार टेलिफोन संवाद समेत भएको छ ।
वार्तामा सहभागी एमाले नेता घनश्याम भुसालले वरिष्ठ नेता नेपाल निवास कोटेश्वर पुगेर दुवै शीर्ष नेताबीच संवाद गराएका थिए ।
दिउँसो १ बजेदेखि २ घण्टा चलेको छलफलमा ओली पक्षबाट एमाले उपमहासचिव विष्णुप्रसाद पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य शंकर पोखरेल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ सहभागी रहेका थिए भने वरिष्ठ नेता नेपाल पक्षका सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्य र घनश्याम भुसाल सहभागी भएका थिए ।
यसअघि बिहीवार राति र शुक्रवार बिहान पनि दुबै नेताबीच संवाद भएको थियो । नेता नेपालले ओलीले शुक्रवार बोलाएको केन्द्रीय कमिटीको बैठक रोक्न आग्रह गरेका थिए भने ओलीले बैठकमा सहभागी हुन निम्तो दिएका थिए तर नेपाल बैठकमा सहभागी भएनन् ।
अध्यक्ष ओलीले असार १६ गते दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी असार १८ गते केन्द्रीय कमिटी बैठक राखेका थिए । बैठकबाट अध्यक्ष ओलीले सर्वोच्च अदालतमा दिएको रिटबाट एमाले २३ सांसदहरूले हस्ताक्षर फिर्ता लिन सोमवार साँझसम्मको चेतावनीयुक्त समयसीमा तोकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।