काठमाडौं – सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष बामदेव गौतमलाई स्वागत गरेका छन् ।
लामो समयपछि बैठकमा सहभागी गौतमलाई स्वागत गर्दै अध्यक्ष ओलीले भने, ‘उहाँलाई स्वागत गर्दै अन्य कमरेडहरूलाई पनि भोलि हुने बैठकमा सहभागी हुन आग्रह गर्छु ।’
भोलि शनिवार बस्ने केन्द्रीय कमिटी बैठकमा सहभागी हुन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई ओलीले आह्वान गरे ।
बैठकलाई सम्बोधन गर्दै ओली कडा रूपमा प्रस्तुत भएका छन् । अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर २ दिनभित्र फिर्ता गर्न माधवकुमार नेपाल पक्षका पूर्व सांसदलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्ताका लागि अल्टिमेटम दिएको छ ।
महासचिव ईश्वर पोखरेलले ओलीको प्रस्तावमा समर्थन जनाउन बैठकमा आग्रह गरेका थिए । त्यसपछि बैठकमा निर्णय भएको थियो ।
सभापति देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपाल पक्षका २३ जना सांसदले हस्ताक्षर गरेका छन् । बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी र सरकारविरुद्ध विरोधीहरुले स्याल हुइयाँ मच्चाएको आरोप लगाए ।
ओलीले राम्रो काम गर्दागर्दै पनि पार्टी फुटाउन खोजिएका आरोप समेत लगाएका छन् । अध्यक्ष ओलीले आफ्नो पार्टीको सरकार ढालेर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन भनेर अराजनीतिक क्रियाकलाप सुरु भएको बताएका छन् ।
‘पार्टी र सरकारविरुद्ध स्याल हुइयाँ मच्चाइरहेका छन् तर स्याल हुइयाँ टिक्नेवाला छैन । फेरि पनि नेपालको राजनीति एमालेकै केन्द्रविन्दु वरिपरि रहेर अघि बढ्छ,’ उनले बैठकमा भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।