काठमाडौं - एमाले केन्द्रीय कमिटी बैठक बालुवाटारमा आज बस्दैछ ।
बैठकमा सहभागी हुन एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले वरिष्ठ नेता माधव नेपाललाई शुक्रबार बिहान आफैले टेलिफोन गरेर आग्रह गरे ।
माधव पक्षले बिहीबारको स्थायी कमिटी बैठकबाट निर्णय गरेरै आजको केन्द्रीय समिति बैठकमा नजाने प्रस्ट पारेको थियो ।
त्यसकारण ओलीले आज बिहान नेपाललाई फोन गरेका हुन् । तर, नेपालले गुटको बैठकमा नआउने भन्दै ठाडै इन्कार गरिदिए ।
बरु ओलीको आग्रह लत्याउँदै माधव नेपालले आजै बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । नेपालले सभामुख अग्निप्रसाद सापकोटाको लैनचौरस्थित निवासमा प्रचण्डसँग लामै भलाकुसारी गरेको स्रोतले बताएको छ ।
बैठकमा नेताहरुले समसामायिक राजनीति, संघीय संसदअन्तर्गतको राष्ट्रिय सभा बैठक शुरु भएको विषय र एमालेभित्रको आन्तरिक राजनीतिका विषयमा केन्द्रीत रहेर कुराकानी भएको बुझिएको छ ।
ओलीले पार्टी आजको केन्द्रीय समिति बैठक अगाडि माधव नेपालसँग भेटवार्ता गर्न चाहेका थिए । तर, माधव ओलीलाई छाडेर प्रचण्ड भेट्न पुगेका हुन् । ओलीले केही दिनअघि माधव नेपाललाई प्रधानमन्त्री बनाउन मलाई बहुलाहा कुकुरले टोकेको छ र भन्ने अभिव्यक्ति दिएपछि नेपाल फायर भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।