काठमाडौं – सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई फोन गरेर आज शुक्रबार बालुवाटारमा हुने केन्द्रीय कमिटी बैठकमा सहभागी हुन बिन्ती गरेका छन् ।
यसअघि बिहीबार साँझ समेत दुबै नेताबीच टेलिफोन संवाद भएको थियो ।
ओली र नेपालबीच शुक्रबार बिहान फोनमा कुराकानी भएको नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले बताए । नेताहरूबीच आजका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकअघि भेटवार्ताको तयारी समेत गरिएको छ ।
फोन कुराकानीमा अध्यक्ष ओलीले बैठकमा आउन नेता नेपाललाई आग्रह गरेका छन् । ओलीले आफूलाई चित्त नबुझेको कुरा बैठकमै आएर राख्न नेता नेपाललाई बिन्ती गरेका छन् ।
कार्यालय सचिव तामाङले भने, ‘अध्यक्षज्यूले एकताका लागि हदैसम्मको लचकता अपनाउने क्रममा फोन गरेर बोलाउनुभयो । उहाँहरुबीच भेटवार्ता हुने सम्भावना पनि छ ।’
एमालेको केन्द्रीय कमिटी बैठक आज शुक्रबार बालुवाटारमा बिहान ११ बजे बस्ने गरी बोलाइएको छ तर नेता नेपाल पक्षले बैठकमा सहभागी नहुने निर्णय बिहीबारै गरिसकेको छ ।
गत बुधवार भएको एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठकले आयोजक कमिटी भंग गर्दै आज शुक्रवारका लागि केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।