काठमाडौं – नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा संसदका सदस्य राधेश्याम अधिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीको गरिमालाई लिएर गम्भीर प्रश्न उठाएका छन् ।
बिहीवार बसेको राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै अधिकारीले राष्ट्रपतिको प्रतिरक्षा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेर मात्रै नपुग्ने बताएका छन् ।
‘संविधान निर्माण गर्दा गणतन्त्र, लोकतन्त्र, संघीयता धर्मनिरपेक्षता समानुपातिक समावेशीतालाई अगाल्ने भनेर मूल नीति बनाइयो । आज म प्रश्न गर्न चाहन्छु – आज सरकार वा भनौं प्रधानमन्त्रीको कामकारबाही र निर्णयका कारण सम्माननीय राष्ट्रपति गरिमा आमनेपाली नागरिकबीच बढेको छ कि घटेको छ ? सम्माननीय राष्ट्रपतिको प्रतिरक्षा प्रधानमन्त्रीले मात्रै गरेर पुग्ने हो । गणतन्त्रमा विश्वास गर्ने सबैले राष्ट्रपतिको संस्थाको रक्षाकवच हुनुपरेन ? आज स्थिति के छ, सम्बन्धित सबैले मनमनै गुनुन् भन्ने मेरो आग्रह छ,’ अधिकारीले भने ।
नेता अधिकारीले लोकतन्त्रमा जवाफदेहीता, पारदर्शिता, विधिको शासनको ज्यादै महत्त्व हुने बताउँदै आजको सरकार कोप्रति जवाफदेही छ भन्दै प्रश्न गरेका छन् ।
‘सरकारले लिएका वा लिने गरेका निर्णयमा पारदर्शिता कति छ ? विधिको शासनको अपेक्षा आमनागरिकले गर्न पाउने वा नपाउने, के हो ?’ अधिकारीले प्रश्न गरेका छन् ।
नेता अधिकारीले प्रतिनिधि सभाले प्रधानमन्त्रीलाई जवाफदेही बनाउन चाहेकैले विघटनमा पर्नुपरेको तर्क गरेका छन् । ‘संविधान निर्माण गर्दा प्रतिनिधिसभा विघटन नगर्न हामीले विभिन्न संवैधानिक प्रावधान राख्यौं तर आफूलाई असजिलो परेको ठानेर प्रधानमन्त्रीले आफूखुसी प्रतिनिधिसभा विघटन गरेको होइन र ?’ अधिकारीले भने, ‘प्रतिनिधि सभाले प्रधानमन्त्रीलाई जवाफदेही बनाउन चाहेकाले पटक–पटक विघटनमा पर्नुपरेको स्पष्ट नै छ । विधिको शासनको अनुपम उदाहरण अध्यादेश राज हो ।’
बिहीबारदेखि सुरु भएको बैठकमा नेताहरूको बोल्नेक्रम जारी रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।