काठमाडौं – सत्तारुढ दल नेकपा एमाले २०७५ जेठ २ गतेकै अवस्थामा फर्किने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा मंगलवार बसेको एमाले स्थायी कमिटी बैठकले जेठ २ गतेमा फर्किने निर्णय औपचारिक रुपमा गरेको छ ।
एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले बैठकले १८ असारमा बस्ने गरी एकतापूर्वको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको जानकारी दिए । दोस्रो तहका नेताहरुको छलफल र सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि जेठ २ गतेकै अवस्थामा एमालेलाई फर्काउन अध्यक्ष ओली सहमत भएका छन् ।
गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले ब्युँताएपछि जेठ २ गतेकै पार्टी कमिटी, विधान र नेतृत्व कायम हुनुपर्ने माग पार्टीभित्र भइरहेको थियो । वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम सहितको समूहले जेठ २ गतेको पार्टी कमिटी अनुसार अघि बढ्नुपर्ने अडान राख्दै आएको छ ।
महाधिवेशन आयोजक कमिटीको एजेन्डा तथा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यबारे टुंगो लगाउन एमाले स्थायी कमिटी बैठक मंगलवार बस्यो । बुधवार बस्ने आयोजक कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई विघटन गरेर केन्द्रीय कमिटी बैठकको आह्वान हुनेछ ।
केन्द्रीय कमिटी बैठक बोलाइएसँगै नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी स्वतः पुनर्बहाली हुने र ११ जना नेतालाई गरिएको कारबाही समेत स्वतः निष्क्रिय हुने भएको छ ।
एमाले स्रोतका अनुसार २०७५ जेठ ३ गतेसम्म जो जुन पदमा थिए सोही पदीय जिम्मेवारीसहित केन्द्रीय कमिटी बैठकमा सहभागी हुनेछन् । अर्थात् नेकपा एकतापछि एमालेमा फर्किएका पूर्व माओवादी केन्द्रका नेताहरुसमेत सोही जिम्मेवारीसहित एमाले बैठकमा सहभागी हुनेछन् । नेकपामा हुँदा उनीहरु जुन जिम्मेवारीमा थिए, त्यो यथावत् नै रहने भएको छ ।
एमालेको १०औं महाधिवेशन आयोजक कमिटी विघटनको बैठक बुधवार बस्दैछ । महाधिवेशन आयोजक कमिटीको बैठकमा नेपाल समूहका नेताहरु सहभागी नहुने बताइएको छ ।
तर ओली समूहले नेपालसहित कारवाहीमा परेका ११ जना नेताबाहेक सबैलाई बैठकमा सहभागी हुन भनेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले कारवाहीमा परेका ११ जनाबाहेकका सबै नेतालाई बैठकमा सहभागी हुन बोलाइएको बताएका छन् ।
वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, कल्याणी खडका, रामकुमारी झाँक्री सहितका ११ जना नेतालाई जेठ १० गतेको बैठकले पार्टीबाट कारवाही गरेको थियो । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।