सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेसको क्रियाशील सदस्यता छानविनमा कहाँ छ गडबडी ?

कांग्रेसको क्रियाशील सदस्यता छानविनमा कहाँ छ गडबडी ?

  • मिडिया डबली
  • बुधवार, आषाढ १६ २०७८

  • 7.3K
    SHARES

  • कांग्रेसको क्रियाशील सदस्यता छानविनमा कहाँ छ गडबडी ?

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा सबैभन्दा महत्त्वपूर्ण पक्ष मानिएको क्रियाशील सदस्यताको छानविनको विषय पेचिलो बनेको छ ।

    देशभरबाट आएका क्रियाशील सदस्यता छानविन गरी सदस्यताको टुंगो लगाउनेगरी कांग्रेसले नेता रमेश लेखकको संयोजकत्वमा छानविन समिति बनाएको छ तर समितिले छानविनको मापदण्ड नपाउँदा सदस्यता सम्बन्धी छानविन र विवादमा तदारुकताका साथ काम गर्न सकेको छैन ।

    सदस्यता छानविन सम्बन्धी विषयमा कांग्रेसभित्र विवाद रहँदै आएको छ । सदस्यताको विषय लिएर कांग्रेस भित्रका संस्थापन पक्ष र संस्थापन इतर पक्षले आ–आफ्नो अडान लिँदै आइरहेका छन् ।

    संस्थापन पक्षले सदस्यताको विषयलाई सहमतिबाटै टुंग्याउने प्रयत्न गरिरहेको छ भने इतर पक्षले जथाभावी रुपमा सदस्यता बाँडिएको भन्दै कडा छानविनको माग गर्दै आइरहेको छ । इतर पक्षका हरेकजसो नेताहरुको बैठकमा यो विषय उठ्दै आइरहेको छ ।

    सदस्यता छानविन समितिका सदस्य नेता जीवन परियारले मापदण्ड नबन्दा छानविनमा समस्या देखिएको बताएका छन् । ‘अहिलेसम्म मापदण्ड बनेको छैन, १–२ दिनभित्र टुंगो लगाउने आश्वासन शीर्ष तहबाट आएको छ, त्यसपछि हामी काम टुंग्याउँछौं,’ समितिका सदस्य रहेका नेता परियारले भने ।

    कांग्रेसमा विजयकुमार गच्छदार नेतृत्वको लोकतन्त्रिक फोरम, राप्रपा परित्याग गरी कांग्रेस प्रवेश गरेका सुनिलबहादुर थापा नेतृत्वको समूह र अन्य पार्टीबाट प्रवेश गरेकाहरुलाई पार्टीमा समायोजन गर्न र उनीहरुलाई दिएको क्रियाशील सदस्यताको विषयमा धेरै विवाद रहेको छ ।

    कांग्रेस पार्टी कार्यालयका अनुसार हालसम्म कांग्रेस केन्द्रीय कार्यालयले बनाएको अनलाइन प्रणालीमा ८ लाख २० हजार क्रियाशील सदस्यता इन्ट्री भइसकेको छ । त्यसमध्ये ३ लाख ९२ हजार पुराना र बाँकी नयाँ हुन् । करीब ६ लाख क्रियाशील सदस्यता निर्विवाद छन् भने र २ लाख २० हजार सदस्यता छानविनका क्रममा छन् ।

    असार ४ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले असार २० गतेसम्म क्रियाशील सदस्यता विषय टुंगो लगाएर सभापति शेरबहादुर देउवालाई बुझाउने कार्यादेश क्रियाशील सदस्यता छानविन समितिलाई दिएको थियो ।

    तर अझै पनि बर्दिया, बारा र सिन्धुपाल्चोकको सदस्यता नामावली पार्टी केन्द्रीय कार्यालयको सर्भरमा इन्ट्री भएको छैन । जसका कारण सो समयभित्र समितिले काम सक्ने सम्भावना अब न्यून हुँदै गएको छ ।

    समितिले मापदण्ड नबन्दा विवाद समाधान गर्न समस्या भएको भन्दै शीर्ष नेताहरुलाई ध्यानाकर्षण गराएको थियो । कांग्रेसको क्रियाशील सदस्यताको विवाद सबैभन्दा बढी २ नम्बर प्रदेशमा देखिएको छ ।

    छानविन समितिलाई शतप्रतिशतभन्दा बढी नयाँ सदस्यता फाराम भरेका वडामा कसरी विवाद मिलाउने भन्ने समस्या परेको छ । तहगत रुपमा सिफारिस भएर आउनुपर्नेमा कुनै तह छुटाएर आएकालाई कसरी हेर्ने, नेपाल लोकतान्त्रिक फोरमभित्रको समयोजनको विवादलाई के गर्ने र अन्य पार्टीबाट आएका भनिएकाहरुको विवादलाई कसरी समाधान गर्ने भन्ने विषयमा पनि समस्या देखिएको छ । समितिले यही आधारमा मापदण्डको प्रारम्भिक मस्यौदा बनाएर शीर्ष नेतृत्वलाई बुझाएको थियो ।

    नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्व महामन्त्री प्रकामान सिंहले महाधिवेशनबारे पार्टीका केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने भएका छन् । नेता सिंहको ठमेलस्थित निवासमा मंगलवार बसेको तेस्रो चरणको छलफलपछि तीनै नेताहरू अबको छलफल केन्द्रीय सदस्यसँग गर्ने निर्णयमा पुगेका जनाइएको छ ।

    नेता सिंहले अबको छलफल केन्द्रीय सदस्यसँग हुने बताए । ‘हामी ३ चरणको छलफलमा बस्यौं अब केन्द्रीय सदस्यहरुसँग हामी छलफल गर्छाैं, त्यसपछि नेतृत्वबारे कसरी अघि बढ्ने भन्ने निष्कर्षमा पुग्छौं,’ नेता सिंहले बैठकपछि भने ।

    सिंहका अनुसार आगामी शुक्रवार महामन्त्री कोइरालाको टोखास्थित निवासमा केन्द्रीय सदस्यहरुसँग छलफल आयोजना हुनेछ । केन्द्रीय सदस्यसँगको छलफलपछिको अर्को चरणमा भने १४औं महाधिवेशनमा सभापतिका आकांक्षी रहेका नेताहरुसँग पनि छलफल गरिने नेता सिंहले जानकारी दिए ।

    ३ नेताबीच निरन्तर महाधिवेशन लक्षित समीकरणका विषयमा छलफल हुँदै आइरहेको छ । उनीहरुबीच हाल पार्टीभित्र रहँदै आएका गुट अन्त्य गर्ने र १४औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाएर अघि बढ्ने विषयमा छलफल हुँदै आएको छ ।

    नेता त्रयबीच सकेसम्म साझा उम्मेदवार बनाएर सहमतिमा नै यसपटक नेतृत्व चयन गर्ने विषयमा छलफल भइरहेको छ । सो रणनीतिअनुसार सबै आकांक्षीबीच छलफल गर्ने र सहमति हुने सम्भावना भए स्वीकार्ने विषयमा उनीहरुबीच छलफल भइरहेको हो ।

    नेता त्रयबीच यसअघि महामन्त्री कोइरालाको निवास महाराजगञ्जमा असार ११ गते छलफल भएको थियो भने त्यसअघि असार ७ गते उपसभापति निधिको मध्यबानेश्वरस्थित निवासमा छलफल भएको थियो । कांग्रेसको १४ औं महाधिवेशन १६ देखि १९ भदौसम्म काठमाडौंमा हुँदैछ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend