सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेसमा महाधिवेशनको मुखैमा ‘लन्च मिटिङ’ फेसन ! यसरी सभापति जितिएला ?

कांग्रेसमा महाधिवेशनको मुखैमा ‘लन्च मिटिङ’ फेसन ! यसरी सभापति जितिएला ?

  • मिडिया डबली
  • मंगलवार, आषाढ १५ २०७८

  • 6.3K
    SHARES

  • कांग्रेसमा महाधिवेशनको मुखैमा ‘लन्च मिटिङ’ फेसन ! यसरी सभापति जितिएला ?

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी १४औं महाधिवेशनमा फेरि उम्मेदवार बन्ने जनाउँदै तयारीलाई तीव्र बनाइरहँदा संस्थापन इतरका नेताहरु ‘लन्च मिटिङ’ केन्द्रित बनेका छन् ।

    संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधि र पूर्व उपसभापति गोपालमान श्रेष्ठले समेत नेतृत्वका लागि आकांक्षा देखाएपछि केही राहतको महसूस गरेको संस्थापनइतर नेताहरु साझा उम्मेदवार बनाउनेभन्दा आ–आफ्नो शक्ति देखाउन सक्रिय रहेका छन् ।

    संस्थापन पक्षबाट विद्रोह गर्दै सभापतिको उम्मेदवार बन्ने बताएका उपसभापति निधिले महामन्त्री शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंह सहितको लन्च मिटिङ आयोजना गरेपछि कांग्रेसमा यो क्रमले बिस्तारै निरन्तरता पाउन थालेको छ । साझा उम्मेदवार बनाउन छलफल र बहसभन्दा संस्थापन इतरका नेताहरुले आ–आफ्नो दाबी र सहयोग माग्दै एकअर्काका घर पुग्न थालेका छन् ।

    पछिल्ला दिनमा विभिन्न गुटगत भेलामा सहभागी हुन कांग्रेस नेताहरुलाई अहिले भ्याइँनभ्याइँ देखिएको छ ।

    नेताहरू निधि, कोइराला र सिंहले १४औं महाधिवेशनमा साझा उम्मेदवारी दिने भन्दै छलफल जारी राखेका बेला सोमवार नेत्री सुजाता कोइरालाले नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला सहितको लन्च मिटिङ आयोजना गरेकी छन् ।

    आफू पनि सभापतिको आकांक्षी रहेको जनाउँदै कोइरालाले पौडेल र सिटौलालाई १४औं महाधिवेशनमा मिलेर साझा उम्मेदवार तय गर्न सुझाव दिएकी छन् । साझा उम्मेदवार नभए आफू सभापतिको उम्मेदवार बन्ने भन्दै सुजाताले उनीहरुसँग सहयोग मागेकी छन् ।

    ‘तपाईंहरु मिल्ने भए मिल्नुस् । यो बेला सबै मिलेर जाँदा पार्टी जोगाउन सकिन्छ,’ सुजाताले पौडेल र सिटौलालाई भनेकी थिइन्, ‘तपाईंहरु मिल्नुहुन्न भने म सभापतिमा लड्छु ।’

    अझै तोकिएको समयमा महाधिवेशन हुनेमा संशय रहेको जनाउँदै सुजाताले महाधिवेशनको सुनिश्चितता गर्न सबै लाग्नुपर्नेमा पनि जोड दिएकी छन् । लन्च मिटिङमा सहभागी नेता पौडेलले सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गर्दै सबैलाई समेटर अघि बढ्न आफू लागि परेको बताएका थिए ।

    सहभागी पूर्व महामन्त्री सिटौलाले १३ औं महाधिवेशनमा पौडेलको पक्षमा उभिएको समूहले साझा उम्मेदवार बनाउन सके आफू सहयोग गर्न तयार रहेको धारणा राखेको स्रोतको दाबी रहेको छ । संस्थापन इतर समूहमा त्यस्तो सम्भवना नदेखिएको सिटौलाको विश्लेषण रहेको निकट स्रोतको दाबी गरेको छ ।

    नेत्री सुजातासँगको लन्च मिटिङमा सहभागी हुनुअघि पूर्व महामन्त्री सिटौलाले बिहान आफ्नै निवासमा युवा केन्द्रीय सदस्यहरुसँग भेटेका थिए । आफ्नै समूह करीब–करीब छिन्नभिन्नको अवस्थामा पुगेका बेला सहभागीहरुले मिलेर १४औं महाधिवेशनमा साझा उम्मेदवार दिन र त्यसपछिको स्थानमा युवालाई ल्याउन आग्रह गरेका थिए ।

    ‘सभापतिमा तपाईंहरु उठ्ने हो भने छलफल गरेर साझा उम्मेदवार तय गर्नुहोला,’ बैठकमा सहभागी केन्द्रीय सदस्य दीपक गिरीले भने, ‘त्यसपछिका पदमा युवालाई ल्याउनुहोला । तपाईंहरु मिल्न सक्नुभएन भने हामी नेतृत्वका लागि तयारी छौं भन्यौं ।’

    १३ औं महाधिवेशनमा नेता पौडेललाई नेतृत्व अस्वीकार गर्दै सिटौलाले सभापतिमा उम्मेदवारी दिएका थिए । तर अहिले पनि सभापति देउवासँग उनको निकटता रहेको निकटहरुको बुझाइ रहेको छ ।

    बिहानै सभापतिमा सहयोग माग्न अर्का आकांक्षी डा. शेखर कोइराला नेता पौडेल निवास पुगेका थिए । सभापतिका आकांक्षी दुबैले आफू नै सभापतिको उम्मेदवारी दिने तयारीमा जुटेको भन्दै एकअर्काले सहयोग मागेका थिए । १३ औं महाधिवेशनपछि नै आफूले सभापतिका लागि तयारी थालेको जनाउँदै शेखरले नेता पौडेललाई आम निर्वाचनपछि प्रधानमन्त्री बन्न प्रस्ताव गरेको स्रोतको दाबी रहेको छ । तर पौडेलले त्यसलाई अस्वीकार गर्दै अहिले आफूलाई सभापतिमा सहयोग गर्न र अर्को महाधिवेशनबाट पार्टी नेतृत्व सम्हाल्न आग्रह गरेको निकटहरुको दाबी रहेको छ ।

    ‘महाधिवेशनमा एकअर्कालाई सहयोग गर्नेबारे उहाँहरुबीच कुरा भयो,’ निकट एक नेताले भने, ‘कुनै ठोस सहमति भएको छैन । आ–आफ्ना दाबी पेश गर्ने काम भएको छ ।’

    सोमवार साँझ नै पूर्व महामन्त्री प्रकाशमान सिंहले पनि पौडेलसँग १४ औं महाधिवेशनमा नेतृत्वमा आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । पौडेलकै निवास पुगेका सिंहले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा आमजनताले पार्टी नेतृत्व परिवर्तन गरेर मत माग्न आउनू भन्ने जनादेश दिएको भन्दै आफूलाई सहयोग गर्न आग्रह गरेका छन् ।

    सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलको पार्टीमा ठूलो योगदान रहे पनि अवसर पाउँदा काम गर्न नसकेको जनाउँदै सिंहले दुबै नेता १४औं महाधिवेशनबाट अविभावकको भूमिकामा बस्नुपर्ने सुझाव दिएका थिए । 

    ‘उहाँ (रामचन्द्र पौडेल)को व्यक्तित्व र योगदान हामी कदर गर्नेछौं,’ सिंहले भने, ‘त्यहीअनुसार पार्टीले उचित स्थान र सम्मान गर्नेछ ।’ जनताको आशा र भरोसाअनुसार पार्टी संगठन निर्माणका लागि राम्रो टीमले मात्र नहुने भन्दै सिंहले भने, ‘पार्टीलाई ठीक ढंगबाट हाँक्न सक्ने डाइनामिक लिडर चाहिन्छ ।’

    त्यस्तो नेतृत्व नहुँदा १३ औं महाधिवेशनपछि कांग्रेस इतिहासकै कमजोर बन्न पुगेको बताउँदै उनले भने, ‘यसअघि पनि मैले उहाँ (नेता पौडेल) लाई छाडेको हुँ । यसपटक मलाई सहयोग गर्नुहोस् भनेको छु ।’

    जवाफमा पौडेलले आफू पनि नेतृत्वका लागि आकांक्षी रहेको बताउँदै सहयोग गर्न उल्टै सिंहलाई आग्रह गरेका थिए । आफ्नो निवासमा उपसभापति निधि, महामन्त्री शशांक लन्च मिटिङ राखेको अघिल्लो दिन सिंहले पौडेल निवास पुगेर आफूलाई सहयोग गर्न आग्रह गरेका हुन् । मंगलवार ३ नेताको लन्च मिटिङ आयोजना गरेको जानकारी दिँदै सिंहले भने, ‘सहमतिका लागि प्रयासस्वरुप हामी ३ जनाबीच छलफल चलिरहेको छ । सोहीअनुसार मंगलवार मैले लन्च मिटिङको आयोजना गरेको छु ।’

    यसअघि निधि र शशांकले मिटिङ आयोजना गर्दै पार्टीका संस्थापक नेताहरु बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनरायण सिंहका छोराहरु एकै ठाउँमा रहेको सन्देश प्रवाह गर्ने प्रयास गरिरहेका छन् । सिंह निवासको लन्च मिटिङपछि उनीहरुले पार्टीका सबै केन्द्रीय सदस्यको भेला शशांकको निवास टोखामा राख्ने तयारी गरेका छन् ।

    पौडेलले मंगलवार काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरूको बैठक राखेका छन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend