आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओली–नेपालको दुष्मनीले सत्तारुढ एमाले नयाँ मोडमा, कसलाई फाइदा होला ?

ओली–नेपालको दुष्मनीले सत्तारुढ एमाले नयाँ मोडमा, कसलाई फाइदा होला ?

  • मिडिया डबली
  • मंगलवार, आषाढ १५ २०७८

  • 6.6K
    SHARES

  • ओली–नेपालको दुष्मनीले सत्तारुढ एमाले नयाँ मोडमा, कसलाई फाइदा होला ?

    काठमाडौं – सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच आरोप–प्रत्यारोप चलेको छ ।

    सोमवार बिहानैदेखि दुबै नेता एकअर्काविरुद्ध आरोप–प्रत्यारोपमा उत्रिएका हुन् ।

    एमालेको विवाद अन्त्य गर्ने प्रयास चलिरहेका बेला २ नेताबीच चलेको आरोप–प्रत्यारोपले विवाद निरुपण र एकता प्रक्रियामा पूर्णविराम लाग्ने आशंका जन्माएको छ ।

    सोमवार बिहान मदन भण्डारीको जन्मदिनका अवसरमा बोल्दै नेता नेपालले अध्यक्ष ओलीलाई संकेत गर्दै दक्षिणपन्थी भएको आरोप लगाएपछि दिउँसो ओली नेपालमाथि खनिएका थिए । ओलीले नेपाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल ‘प्रचण्ड’को मामुली कार्यकर्ता भएको, कांग्रेससँग साँठगाँठ गरेर शेरबहादुर देउवाको पार्टीमा जान लागेको जस्ता आरोप लगाएका थिए ।

    ओलीले नेपाललाई प्रचण्डको मामुली कार्यकर्ता भएको बताउँदै उनलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न आफूलाई बहुला कुकुरले नटोकेको भन्दै कडा टिप्पणी गरेका थिए । मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाल लगायत विपक्षी दलका अन्य नेताहरुप्रति कडा ढंगले कटाक्ष गरेका छन् ।

    सोमवार बिहान नेता नेपालले अहिले पार्टीको नेतृत्व संविधानको मर्ममा प्रहार गर्ने दक्षिणपन्थी बाटो अवलम्बन गर्ने तहको भएको आरोप लगाएका थिए । ‘अधिनायकवाद तथा निरंकुशताविरुद्ध लामो संघर्ष गरेका सहयोद्धा कमरेड मदन भण्डारीको नेतृत्वमा हामीले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र हाम्रो देशको कम्युनिस्ट आन्दोलन समेतको अनुभवका आधारमा मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकासको नयाँ आधार निर्माण गर्‍यौं,’ उनले भने ।

    कम्युनिस्ट पार्टीलाई एकीकृत बनाउने, लोकतान्त्रिक मूल्य र मान्यता आत्मसात् गर्ने, स्वच्छ छवि कायम राख्ने, जनताको दुःखसुखमा सहभागी हुने, बहुदलीय प्रतिस्पर्धाका आधारमा जनताको विश्वास लिएर शासन सञ्चालन गरी जनअपेक्षा पूरा गर्दै समाजवादको लक्ष्यमा अघि बढ्न भण्डारीको नेतृत्वमा जनताको बहुदलीय जनवाद प्रतिपादन गरिएको नेपालले बताएका छन् ।

    ‘शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको माध्यमबाट कम्युनिस्ट पार्टीले प्राप्त गरेको जनविश्वासको जगमा देशको संविधान, पार्टीको विधान, विधि र सिद्धान्त अनुरुप पार्टी एवं सरकार सञ्चालन नगरी राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्रविरुद्ध दक्षिणपन्थी बाटो अवलम्बन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधानमाथि मर्मान्तक प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिस्ट पार्टीकै नाम र नेतृत्वमा हुनु वर्तमानको तितो यथार्थ एवं हामी सबैका लागि दुःखद अवस्था हो,’ उनले भने ।

    त्यसैक्रममा नेता नेपालले एमालेलाई नयाँ सिराबाट अघि बढाउनुपर्ने आवश्यकता रहेको बताउँदै सबैलाई सो अभियानमा लाग्न आग्रह समेत गरेका थिए ।  

    ‘विद्यमान वैचारिक, राजनीतिक, सांस्कृतिक, आर्थिक विचलन, विकृति, विसंगति, सांगठनिक बेथिति र अन्यायको अन्त्य गर्दै नेकपा एमाले, सिंगो कम्युनिस्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ सिराबाट एकीकृत गर्ने अभियानमा लाग्न सम्पूर्ण पार्टी नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायमा हार्दिक आह्वान गर्छु,’ उनले भने ।

    सोमवार बिहानदेखि दुबै नेताका अभिव्यक्तिले पार्टी विवाद निरुपण गर्न लागेका नेताहरु अप्ठ्यारोमा परेका छन् । दोस्रो पुस्ताका नेताहरुले संयम अपनाएर अभिव्यक्ति दिन गरिएको आग्रहलाई दुबै नेताले उल्लंघन गरेका छन् । 

    ‘विवाद निरुपण गर्नुपर्छ भनेर रातदिन खटेका छौं, उहाँहरु भने एकअर्कालाई गाली गरेर समय बिताउनुहुन्छ अनि हामीले उहाँहरुले भनेजस्तो मानेर हिँडिदिनुपर्ने, यस्तो अवस्थाचाहिँ अन्य कुनै पार्टीमा छैन होला ? जब पार्टीको विवाद मिलाउने कुरा हुन्छ त्यसपछि दुबै नेता आक्रोशमा आएर हाम्रो प्रयास असफल पार्ने काम भएको छ,’ एक नेताले भने । 

    ती नेताका अनुसार दुबै नेतालाई एकअर्काप्रति अविश्वास रहेको र अस्तित्व स्वीकार गर्न कठिन भएको छ । सोमवार दिउँसो एमाले अध्यक्ष ओलीले दिएको अभिव्यक्ति निकै पेचिलो भएको नेपाल पक्षले समेत महसूस गरेको छ । ओली पक्षका नेताहरुले पनि नेपालको अभिव्यक्तिलाई खास राम्रो मानेका छैनन् । 

    दोस्रो पुस्ताको निरन्तर प्रयासपछि ओली २०७५ जेठ २ गतेको पार्टी संरचना फर्काउन र नेपाल समूहले राखेको माग पूरा गर्न तयार भएका थिए । उनले असार १६ अर्थात् बुधवार फागुन २८ गतेका सबै निर्णय बदर गर्दै पार्टी पूर्ववत् संरचनामा फर्केको घोषणा गर्दै एमालेको पदाधिकारी, स्थायी कमिटी, केन्द्रीय कमिटीको बैठक राख्ने तयारी गरेका छन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend