काठमाडौं - सत्तारुढ एमालेमा देखिएको विवाद मिलाउन युवा नेताहरूको सक्रियताले सार्थक रूप लिने स्थिति देखिएको छ ।
केपी ओली र माधव नेपाल समूहबीच तीन महिनासम्म चलेको रस्साकस्सीपछि २०७५ जेठ २ गतेअघिका सबै कमिटी ब्युँताएर अघि बढ्ने तयारी भएपछि युवा नेताहरूको हस्तक्षेपले पार्टी विभाजन रोकिने आकलन गरिएको छ ।
गत फागुन २८ गतेपछि ओली र नेपाल पक्षबाट गरिएका सबै निर्णय बदर हुनेगरी सहमति भइसकेको बुझिएको छ । असार १६ गते यी सबै निर्णय बदर भएको घोषणा गर्दै पदाधिकारी र स्थायी कमिटी बैठक बोलाइने स्रोतले बतायो।
ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र नेपाल पक्षबाट घनश्याम भुसाल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, भीम आचार्यले निरन्तर संवाद गरिरहेका थिए। उनीहरूले बुधबारदेखि नै विवाद निरुपणका लागि मस्यौदा बनाएर छलफल गरेका थिए। मस्यौदामाथि दुवै पक्षका नेताले शुक्रबारसम्म छलफल गरी सोही दिन राति ओली र नेपाललाई बुझाएका छन्।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले यसबारे कुनै प्रतिक्रिया नजनाए पनि उनीबाहेकका सबै नेता पुराना सांगठनिक संरचना ब्यूँताएर अघि बढ्नुपर्नेमा सहमत भएका छन् । नेपाल समूहले पार्टीका सबै संरचना २०७५ जेठ २ गतेअघिको अवस्थामा फर्काउनुपर्ने अडान राख्दै आएको छ । ओलीले त्यसलाई बेवास्ता गरेपछि नेपाल समूहले समानान्तर कमिटी बनाएर चुनौती दिएको थियो।
नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गरेपछि ओली सबै कमिटी पुरानै अवस्थामा पुर्याउने मनस्थितिमा पुगेका हुन् । एमाले विभाजन रोक्न आफूले त्याग गरेको ओलीले अपिल जारी गर्ने बुझिएको छ । यदि ओली एमालेका पुराना सांगठनिक संरचना ब्यूँताउन तयार भएमा उनको राजनीतिक हार हुनेछ ।
ओलीले अहिलेसम्म आफूले गरेका निर्णय सही भएको दाबी गर्दै आएका छन् । चाहे त्यो प्रतिनिधिसभा विघटन होस् कि संवैधानिक अंगमा नियुक्ति वा मन्त्रीहरूको नियुक्ति । एमालेको दशौं महाधिवेशन आयोजक कमिटी पनि गठन गरेका ओलीले आफूले गरेका सबै निर्णय बदर गरेमा एमालेमा अब माधव नेपाल हाबी हुने निश्चित छ । यो सँगै ओलीको राजनीतिक करियर सकिने बताउन थालिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।