आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेमा केपी ओलीले बनाएको महाधिवेशन आयोजक कमिटी विघटनउन्मुख

एमालेमा केपी ओलीले बनाएको महाधिवेशन आयोजक कमिटी विघटनउन्मुख

  • मिडिया डबली
  • सोमवार, आषाढ १४ २०७८

  • 4.4K
    SHARES

  • एमालेमा केपी ओलीले बनाएको महाधिवेशन आयोजक कमिटी विघटनउन्मुख

    काठमाडौं – नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटी विघटन हुने भएको छ ।

    गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले पार्टी ब्युँताएपछि २०७५ जेठ २ गतेकै पार्टी कमिटी, विधान र नेतृत्वका आधारमा अगाडि बढ्नुपर्ने माग एमालेभित्र चर्काे रुपमा उठिरहेको छ ।

    वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम सहितको समूह जेठ २ गतेको पार्टी कमिटीअनुसार अगाडि बढ्नुपर्ने अडानबाट पछि नहटेपछि ओली महाधिवेशन आयोजक कमिटी विघटन गर्न सहमत भएका छन् ।

    पार्टीभित्र तीब्र विवाद बढ्दै गएपछि खनाल–नेपाल पक्ष अर्को पार्टी गठन गर्नेसम्मको तयारीमा जुटेपछि विवादको कारण बनेको महाधिवेशन आयोजक कमिटी विघटन गर्न ओली सहमत भएका हुन् । एमाले ब्युँतिएयता खनाल र नेपाल तथा गौतम पक्ष कुनै पनि बैठकमा सहभागी भएको छैन ।

    त्यसयता ओली पक्षको बैठक बस्ने र विभिन्न निर्णय गर्ने गरेको छ । खनाल नेपाल पक्ष पनि समानान्तर बैठकलाई निरन्तरता दिँदै सोही अनुसारको निर्णयका आधारमा अघि बढिरहेको छ ।

    एमाले केन्द्रीय सदस्य विष्णु रिजालले अब पार्टीमा महाधिवेशन आयोजक कमिटी नामक अस्थायी संरचना नरहने प्रष्ट पारेका छन् । पार्टीलाई एकताबद्ध बनाउन महाधिवेशन आयोजक कमिटी विघटन गरेर साविकको एमाले केन्द्रीय कमिटी बैठक बोलाउने तयारी भइरहेको छ ।

    ‘अब नेकपा एमालेमा ‘महाधिवेशन आयोजक कमिटी’ नामक अस्थायी संरचना रहँदैन । साविक केन्द्रीय कमिटीको बैठक बस्छ र पार्टीलाई त्यसले अघि बढाउँछ । पार्टी एकताका लागि यस विकल्पलाई सबैले अधिकतम लचकताका साथ प्रयोग गर्नुपर्छ,’ रिजालले ट्विटरमा लेखेका छन् ।

    १० औं महाधिवेशन आयोजक कमिटीको बैठकबाट पार्टीका सबै संरचना २०७५ जेठ २ गतेमा फर्किएको घोषणा गर्ने तयारीमा पार्टी अध्यक्ष ओली रहेको एमाले स्रोतले जानकारी दिएको छ । आईतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकमा जेठ २ मै फर्किनेबारे गम्भीर रुपमा छलफल भएको छ ।

    बैठकले असार १५ गतेमा स्थायी कमिटी बैठक र असार १६ गते महाधिवेशन आयोजक कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

    एमाले स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङले पार्टी एकता कायम राख्ने देशभरका नेता कार्यकर्ताको चाहना सम्बोधन हुने गरी निर्णय हुने बताएका छन् । ‘यसबारे निर्णय लिन १५ गते स्थायी कमिटी बैठक र १६ गते आयोजक कमिटीको बैठक बोलाइएको छ । देशभरका नेता कार्यकर्ताको पार्टीलाई एकताबद्ध राख्ने चाहना सम्बोधन हुने गरी हामी निर्णय गर्दै छौं, अब पार्टीलाई एकताबद्ध बनाउँछौं,’ नेम्बाङले भनेका छन् ।

    कर्णाली प्रदेशका एमाले सांसदलाई पदमुक्त गर्ने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले नै महाधिवेशन आयोजक कमिटीले गरेको निर्णयले वैधता नपाउने आदेश यसअघि नै दिएको थियो ।

    एमाले सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले १६ गते १० औं महाधिवेशन आयोजक कमिटी बस्ने निर्णय भएको बताएका छन् । राष्ट्रिय राजनीतिको सम्बन्धमा केही निर्णय गर्नुपर्ने भएकाले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउनुपरेको उनले बताएका छन् ।

    ‘पछिल्लो राजनीतिक स्थिति, कोभिड महामारीको अवस्था, प्राकृतिक विपत्ति र राष्ट्रिय राजनीतिका विभिन्न आयामको संक्षिप्त तर गहन छलफल गरेका छौं । यो विषयमा थप केही निर्णय गर्न आवश्यक भएको, अझ फराकिलो र उच्च तहबाट छलफल गरेर केही निर्णय निकाल्नुपर्ने भएको हुनाले १० औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बिहान ११ बजे काठमाडौंमा बस्ने गरी बैठक आह्वान गर्ने निर्णय गरिएको छ,’ ज्ञवालीले भने ।

    प्रवक्ता ज्ञवालीले पार्टी एकताको आशा कायमै रहेको बताउँदै केही नेताहरु विपक्षीलाई काँधमा राखेर उनीहरुलाई शक्तिशाली बनाउने प्रयासमा लागे पनि धेरै नेता कार्यकर्ता एमाले एकताकै पक्षमा रहेकाले एकताको प्रयत्न र प्रयास जारी राखिएको बताएका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend