काठमाडौं – पूर्व निर्धारित समयभित्रै केन्द्रीय महाधिवेशन सम्पन्न गर्न क्रियाशील सदस्यता वितरणको कार्यलाई समयमै टुंग्याउने सहमति नेपाली कांग्रेसका शीर्ष नेताबीच भएको छ ।
आईतबार बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले पार्टी भित्रको आन्तरिक समायोजन लगायत विभिन्न कारणले रोकिएको क्रियाशील सदस्यता वितरण कार्य सबै जिल्लामा सुरू भइसकेकाले समयमै टुंगो लगाएर वडादेखि केन्द्रसम्मको सबै अधिवेशन समयभित्रै सम्पन्न गरिने सहमति भएको छानबिन समिति संयोजक तथा नेता रमेश लेखकले बताएका छन् ।
आईतबारको बैठक कार्यतालिका अनुसार पार्टीको महाधिवेशनलाई सम्पन्न गर्ने विषयमा केन्द्रित भएको उनले बताए ।
पार्टीको वडादेखि केन्द्रसम्मका सबै अधिवेशन सम्पन्न गर्न पूर्व शर्तको रूपमा रहेका क्रियाशील सदस्यताको छानबिन, व्यवस्थापन र अन्तिम सूची तयार गर्ने काममा केन्द्रित भएर छलफल भएको नेता लेखकले जानकारी दिए ।
बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक लेखकले समितिको संक्षिप्त मौखिक प्रतिवेदन प्रस्तुत गरेका थिए । लेखकले अधिकांश जिल्ला र निर्वाचन क्षेत्रबाट क्रियाशील सदस्यताको नवीकरण र नयाँ इन्ट्री पनि भइसकेको तथा पार्टीको आन्तरिक समायोजन सम्बन्धी विवादका कारण प्रभावित भएका जिल्लामा पनि काम सुरू भएको बताएका छन् ।
पार्टीको आन्तरिक समायोजनका कारणले बारामा, बर्दियामा पार्टी कार्यालयमा तालबन्दी भएकाले र लामो समयसम्म समायोजन सम्बन्धी विवाद रहेकाले सिन्धुपाल्चोक जिल्लामा क्रियाशील सदस्यता वितरणको काम अघि बढ्न सकेको थिएन । सबै जिल्लामा अहिले क्रियाशील सदस्यता वितरणको काम भइरहेको नेता लेखकले बताएका छन् ।
नेता लेखकले कांग्रेसले जारी गरेको कार्यातालिकाकै समयमा स्थानीय वडादेखि जिल्ला तहसम्मका अधिवेशन, प्रदेश तहको अधिवेशन र महाधिवेशन सम्पन्न गर्ने गरी क्रियाशील सदस्यताको काम सम्पन्न गर्ने विश्वास व्यक्त गरेका छन् ।
‘झण्डै ८ लाख २० हजार क्रियाशील सदस्यताको इन्ट्री भइसकेको छ । अधिकांश स्थानको सदस्यता वेबसाइटमा सार्वजनिक भइसकेको छ । प्राप्त उजुरी र गुनासामाथि छलफल भइरहेको छ । केही कुरामा समान धारणा बन्न नसकेकाले ती विषयमा पदाधिकारी र पूर्व पदाधिकारीसँग छलफल गरेर समान धारणा बनाउने प्रयास भइरहेको छ । नेपाली कांग्रेसले जारी गरेको कार्यतालिकाकै समयमा स्थानीय वडादेखि जिल्ला तहसम्मका अधिवेशन, प्रदेश तहको अधिवेशन र महाधिवेशन तालिकामा हुने गरी क्रियाशील सदस्यताको काम सम्पन्न गर्ने कुरामा अगाडि बढेका छौं,’ लेखकले भने ।
देशभरमध्ये २ जिल्लाबाहेक अन्य जिल्लाबाट विभिन्न किसिमका उजुरी तथा गुनासाहरू आएका नेता लेखकले बताए । प्राप्त गुनासा तथा उजुरीलाई छलफल गर्दै टुंग्याउँदै लगिएको लेखकले जानकारी दिए ।
क्रियाशील सदस्यहरू नै मतदाता पनि भएकाले महाधिवेशनको पूर्व सन्ध्यामा क्रियाशील सदस्यताको विषय टुंगो लगाउने कार्य जटिल भएको नेता लेखकले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।