काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौतर्फी घेराबन्दीमा परेका बेला असन्तुष्ट नेता माधवकुमार नेपाललाई फकाउन खोजिरहेका छन् । ओलीले एमालेलाई २०७५ जेठ २ गतेकै अवस्थामा फर्काउनका लागि नेपाल पक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राखेका छन् ।
अध्यक्ष ओलीले नेपाल पक्षलाई फुटाएर वा फकाएर सर्वाेच्च अदालतमा दायर रिटमा एमाले सांसदले गरेको हस्ताक्षर फिर्ता गराउने सपना देखिरहेका छन् । तर ओलीको यो सपनालाई नेता माधवकुमार नेपालले चक्नाचुर पारिदिएका छन् ।
शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विपक्षी गठबन्धनका नेताले काठमाडौंमा पत्रकारहरूसँग अन्तक्र्रिया गर्ने क्रममा नेता नेपालले देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ता नहुने स्पष्ट पारे । यसरी ओलीको सपना चक्नाचुर भएको छ ।
नेता नेपालले विपक्षी गठबन्धनबाट नबाहिरिने समेत जनाएका छन् । उनले सर्वोच्च अदालतमा दिएको निवेदनबाट समेत हस्ताक्षर फिर्ता नहुने बताए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत सहभागी कार्यक्रममा नेता नेपालले भने, ‘माधव नेपाल धोका दिने मान्छे होइन, हस्ताक्षर फिर्ता गर्ने र सर्वोच्चबाट पछाडि हट्नेवाला छैन । लोकतन्त्र जोगाउने गठबन्धनमा प्रतिबद्ध छौं ।’
उनले आफू प्रधानमन्त्री पदको आश्वासनबाट विचालित नहुने समेत बताएका छन् । उनले भने, ‘प्रधानमन्त्री पद दिएपछि माधव नेपाल विचलित हुने हो कि ? विगतमा नेकपा रहेको बेलामा पनि प्रधानमन्त्रीको प्रलोभनमा प्रचण्ड र मलाई जुधाउन खोजिएको हो तर यस्ता प्रलोभनमा फस्ने मान्छे होइन ।’
प्रधानमन्त्री ओलीको पटक–पटकको धोका र चालबाजीले गर्दा हैरान भएर आफूहरु पार्टीभित्र विद्रोहमा उभिएको नेपालले बताए । उनले संविधानको धारा ७६(५) को प्रधानमन्त्रीका लागि दलीय ह्वीप नलाग्ने दाबी गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।