काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषद्को सिफारिसमा सार्वजनिक सुनुवाइ नहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायका पदाधिकारी नियुक्त गरिएकोप्रति युवाहरूले आपत्ति जनाएका छन् ।
संविधानविपरीत पदाधिकारी नियुक्त गरिएकोप्रति युवा नेताहरुले घोर भर्त्सना गरेका छन् ।
संविधान मिचेर गरिएका सबै खाले अवैधानिक कदमको मतियार नहुन र सबै नियुक्ति पाउनेहरुलाई नैतिकताको आधारमा पद अस्वीकार गर्न युवाले आग्रह गरेका छन् ।
राष्ट्रपति भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका आधारमा बिहीवार संवैधानिक निकायमा २० जना पदाधिकारी नियुक्त गरेकी छन् ।
युवा नेताले संयुक्त विज्ञप्तिमार्फत भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको असंवैधानिक एवं प्रतिगमनउन्मुख कदमहरु एकपछि अर्को बढिरहेको तथा अदालतले त्यस्ता कदमहरुलाई असंवैधानिक ठहर गर्दै अन्तरिम आदेशबाट रोकिइरहेको अवस्थामा आज संवैधानिक आयोगमा भएको नियुक्तिको हामी घोर भर्त्सना गर्दछौं । संवैधानिक निकायजस्तो राज्यको महत्त्वपूर्ण निकायमा हुने नियुक्तिको आमस्वीकार्यता हुन आवश्यक छ ।’
युवाहरुको विज्ञप्ति विश्वदीप लामिछाने, च्यवन घिमिरे, धिरज कोइराला, देवेन्द्र बर्मा, शिव चालिसे, एलिजा ढकाल, ज्योती बोगटी थापा, रमिता अधिकारी, तुल्सीराम भुसाल, सरोजश्री अधिकारी, बुद्धराज रिसाल, हेमन्त बन, तारा गौतम, रमिला महत, राजन कटुवाल केसी, राविश शर्मा, सुवास अर्याल, छिरिङ धुन्डुप शेर्पा, राजेश लुइटेल, शिबु श्रेष्ठ, गोबिन्द बानियाँ, विश्वास द्विवेदी, आत्मराम अतकुल्य, सुरेस अधिकारी, अशु शर्मा, सरोज बस्नेत, बीपी कोइराला, लक्ष्मण सापकोटा र प्रकाश भण्डारीले जारी गरेका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।