काठमाडौं - पछिल्लो समय शीतल निवास र बालुवाटारबीच सम्बन्धमा चिसोपना आएको बुझिएको छ ।
प्रधानमन्त्री केपी ओलीले गरेका निर्णय जति धमाधम अदालतले बदर गर्न थालेपछि राष्ट्रपति विद्यादेवी भण्डारी बालुवाटारसँग बेखुस रहेको एमालेभित्र चर्चा चलेको छ ।
सरकारले गरेका निर्णय स्वीकृत गर्ने काम राष्ट्रपतिबाट हुँदै आएको छ । अहिलेसम्म सर्वोच्च अदालतले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेका स्वीकृति र नियुक्ति बदर गरेपछि भण्डारी असन्तुष्ट बनेको बुझिएको छ । जसकारण राष्ट्रपति भण्डारी आफैं सरकारी निकायसँग परामर्शमा जुट्न थालेको स्रोतले बतायो ।
केही समयअघि भण्डारीले निवर्तमान गृहमन्त्री खगराज अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग शीतल निवासमा छलफल गरेकी थिइन् । राष्ट्रपतिले गृहमन्त्रीसहित चारै सुरक्षा अंगका प्रमुखसँग छलफल गर्नुलाई भण्डारीमा समानान्तर शक्ति अभ्यासको इच्छा देखिएको विश्लेषण गरिएको छ ।
राष्ट्रपति सिधै सरकारका मन्त्री र सुरक्षा अंगका प्रमुखसँग परामर्श गर्नु संविधान विरोधी कदम हो । उनले आफूलाई केही जानकारी चाहिए प्रधानमन्त्रीलाई बोलाएर परामर्श गर्ने गर्छिन् । तर, केही दिनयता प्रधानमन्त्री केपी ओली पनि शीतल निवास जान छाडेका छन् । केही राजनीतिक जटिलता आइहाल्नेवित्तिकै शीतल निवास पुग्ने प्रधानमन्त्री ओली अहिले एक सातायता गएका छैनन् । अझ राष्ट्रपतिले गृहमन्त्री र सुरक्षा अंगका प्रमुखसँग सिधै परामर्श गरेपछि ओली हच्किएको बताइन्छ ।
त्यति मात्र होइन, भण्डारीले निवर्तमान स्वास्थ्यमन्त्री शेरबहादुर तामाङसँग समेत परामर्श गरेकी थिइन् । उनले कोभिड नियन्त्रण र खोप खरिदका तयारीका विषयमा छलफल गरेको बुझिएको छ । प्रधानमन्त्री ओलीकै सल्लाहअनुसार राष्ट्रपतिले पाँच देशसँग खोप सहयोग गर्न चिठी पठाए पनि कसैले रेस्पोन्स नगरेपछि भण्डारी असन्तुष्ट बनेको बताइन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।