काठमाडौं – प्रतिनिधिसभा विघटनपछि सरकार पुनर्गठन गरेर मन्त्रीको शपथ खाएका नयाँ उपप्रधानमन्त्री राजेन्द्र महतोसहित प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सहभागी २० जना मन्त्रीलाई सर्वाेच्च अदालतले बर्खास्त गरेको छ ।
मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि जेठ २१ र २७ गते शपथ खाएका उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरू सरकारबाट ‘आउट’ भएका छन् ।
उपप्रधान एवं परराष्ट्र मन्त्री रघुवीर महासेठ, गृहमन्त्री खगराज अधिकारी, स्वास्थ्य मन्त्री शेरबहादुर तामाङको पद पनि गुमेको छ । अधिकारीले जेठ २७ गते गृहमन्त्री पदको शपथ खाएका थिए ।
अब सरकारमा प्रधानमन्त्री केपी शर्मा ओली र अन्य ४ मन्त्रीहरू अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ र कानून मन्त्री लीलानाथ श्रेष्ठ मात्रै बाँकी रहेका छन् ।
सर्वाेच्च अदालतले जेठ २१ र २७ गते भएको मन्त्रिपरिषद् विस्तारलाई बदर सबै नयाँ मन्त्रीलाई बर्खास्त गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले मन्त्रिपरिषद् विस्तारलाई बदर गरेको छ ।
प्रतिनिधिसभा विघटन गरेको कामचलाउ चुनावी सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।
सर्वोच्चको आदेशपछि जनता समाजवादी पार्टीका ९ र एमालेका थपिएका मन्त्रीको पद गएको छ । मन्त्रिपरिषद्मा अब प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेलसहित ५ मन्त्री मात्र बाँकी रहेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ र २७ गते मन्त्रिपरिषद् विस्तार गरेका थिए । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते प्रतिनिधिसभा विघटन गरेसँगै सरकार कामचलाउमा परिणत भएको थियो । विघटन सम्बन्धी मुद्दा समेत सर्वाेच्चमा विचाराधीन छ ।
पढ्नुहोस् पूर्णपाठ –



मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।