काठमाडौं - सत्तारुढ एमाले यतिबेला न फुट्न सक्ने न त जुट्न सक्ने अवस्थामा पुगेको छ ।
एमाले एकताको तरुल कहिल्यै पाक्न सकेको छैन । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले माधव नेपालसहित स्थायी कमिटीका केही सदस्यलाई कारबाही गर्ने र कार्यदल बनाएर एकताको वार्ता पनि गर्न लगाउने नाटक मञ्चन गर्दै आएका छन् ।
ओलीको यो रणनीति माधव नेपाल पक्षका केही युवा नेतालाई आफ्नो गुटमा ल्याउन गरिएको भन्ने सबैले बुझेकै छन् । कारबाही गरिएका नेता नै कार्यदल संयोजक बनाइएपछि एमाले एकता लम्बिँदै जाने बताउन थालिएको छ ।
यसैबीचमा खनाल–नेपाल समूहका स्थायी कमिटी सदस्य भीम आचार्यले एमालेलाई एकताबद्ध बनाउन ६ बुँदे सुझाव दिएका छन् । उनले मंगलबार सामाजिक सञ्जालमार्फत ०६२–६३ को जनक्रान्तिले ल्याएका उपलब्धिहरु संकटमा परेको बताएका छन् ।
‘यतिबेला नेकपा विभाजन र एमालेभित्रको किचलोले सिंगो राष्ट्रिय राजनीति विथोलिएको छ । ०६२–६३ को जनक्रान्तिले ल्याएका उपलब्धिहरु संकटमा परेका छन् । अहिले नेकपा एमालेभित्र घात–प्रतिघात, गुट–उपगुट, विश्वास–अविश्वास, कारबाही–प्रतिकारबाही, समर्थन–विरोधजस्ता क्रियाकलापहरु भइरहेका छन् । गत फागुन २८ गते एमालेको नाममा एउटा गुटले गरेका विभाजनकारी निर्णय र गतिविधिहरु यसको मुख्य स्रोत हो,’ उनले लेखेका छन् ।
भीम आचार्य झलनाथ खनालका नातेदार पनि हुन् । उनी माधव पक्षबाट प्रदेश १ का प्रस्तावित मुख्यमन्त्री पनि थिए । तर, अहिले प्रदेश १ सरकार हटाउने विषयमा कुनै प्रक्रिया र छलफल अघि बढेको छैन । यस्तो अवस्थामा उनले एमालेलाई एकताबद्ध बनाउन यस्ता ६ बुँदे सुझाव दिएका छन् ।
१. पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय कमिटी र आफ्नो अधिवेशन र सम्मेलन तथा वैधानिक प्रकृयाबाट आएका मातहत कमिटी, जनसंगठन तथा पेसागत संगठनहरु तुरुन्तै विनासर्त सुचारु गरिनुपर्छ । सार्बभौम सदस्य हरुबाट निर्वाचित कमिटी सुचारु गर्न यो वा त्यो सर्त राख्नु गलत र अनधिकृत हो ।
२. गत फागुन २३ पछि नेकपा एमालेका नाममा गरेका भनिएका सबै गुटका सबै निर्णयहरु खारेज गरिनुपर्छ र गरिएका सबै कामहरु अवैध घोषणा गर्नुपर्दछ ।
३. पार्टीभित्रका गुटहरुको टकरावका कारण यसबिच भएका द्वन्द्व र कामहरुको उपर्युक्त समयमा समिक्षा गर्दै भएका कमि कमजोरीहरु सच्याएर अगाडि बढ्ने प्रतिबद्धता आवश्यक छ ।
४. आगामी दिनहरुमा पार्टी र सरकार सञ्चालन एक भएर गर्ने र आएका चुनौतीहरुको एकतावद्ध भएर सामना गर्नु पर्दछ ।
५.पार्टीलाई विधि–विधान र स्थापित मान्यताहरुको आधारमा संचालन गर्नुपर्दछ ।
६. नेतृत्वले रिस, राग, बदलाभाव, अहंकार, हिनताबोध त्यागेर धैर्य र संयमताका साथ पार्टी लाई एकतावद्ध बनाउने र सबै बामपन्थी र लोकतान्त्रिक शक्ति र पार्टीहरुसंग सुमधुर सम्बन्ध राख्दै सिंगो राष्ट्रलाई एकतावद्ध बनाएर क्रान्तिका उपलब्धिहरु रक्षा गर्दै विकास र समृद्धिको बाटोमा अघि बढनुपर्दछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।