काठमाडौं – सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका केन्द्रीय सदस्य सुरेनविक्रम योञ्जनले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमालेमा रहेर प्रतिनिधि सभाको निर्वाचनमा सिन्धुपाल्चोक जिल्लामा ठूलो गतिविधि गरेका योञ्जनले प्रेस विज्ञप्ति जारी गरेर पार्टी परित्याग गरेको जनाएका छन् ।
युवा नेता योञ्जनले पार्टी परित्याग गरेको जानकारी युवा संघ नेपाल र एमालेको जिल्ला कमिटी सिन्धुपाल्चोकलाई समेत दिएका छन् ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘पार्टीका हजारौं कार्यकर्ताको भावना विपरित अझै पनि खुलेआम विदेशी नेता र राष्ट्रको भक्ति गर्न नै लागेको अवस्था भएको, पार्टीका सबै संरचना केवल आफ्नो भजन मण्डली बनाउनेबाहेक केही नभएको हुँदा आजैका मितिदेखि एमाले तथा सोसँग सम्बन्धित कुनै पनि निकायसँग मेरो संलग्नता नहुने र एमाले त्यागेको घोषणा गर्दछु ।’
विज्ञप्तिमा अगाडि उल्लेख छ, ‘सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका हुँदै जिल्लाका विभिन्न सामाजिक, राजनीतिक गतिविधिमा संलग्न हुँदै आउने क्रममा विगत केही समयदेखि म सुरेनविक्रम योञ्जन एमाले र पछि नेकपा तथा हाल एमालेको राजनीतिक दृष्टिकोणमा आवद्ध भई युवा संघ नेपालको केन्द्रीय कमिटीमा स्थायी समिति सदस्य तथा सिन्धुपाल्चोक जिल्लाको इन्चार्जको रूपमा रहँदै आएको थिएँ । एमालेको वर्तमान नेतृत्वमा रहनुभएका साथीहरुको उद्देश्य केवल सत्ता प्राप्ति मात्रै हो रहेछ भन्ने आभास पछिल्लो समयमा पार्टीभित्र देखिएको व्यक्तिगत कुण्ठाबाट प्रस्ट छ ।’
निर्वाचनका बेला बाम गठबन्धनबाट प्रतिनिधिसभा उम्मेदवार बनेका माओवादी केन्द्रका नेता तथा सभामुख अग्निप्रसाद सापकोटालाई जिताउन भूमिका खेलेका युवा नेताले पार्टी छाडेपछि ओलीलाई ठूलो धक्का लागेको छ ।
पढ्नुहोस् विज्ञप्ति –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।