आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेको खेलमा कसले गर्‍यो झेल ?

एमालेको खेलमा कसले गर्‍यो झेल ?

  • मिडिया डबली
  • मंगलवार, आषाढ ८ २०७८

  • 5.5K
    SHARES

  • एमालेको खेलमा कसले गर्‍यो झेल ?
    फाइल तस्वीर

    काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन् ।

    एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वाेच्च अदालतको आदेशविरुद्ध पुनरावलोकन निवेदक (भ्याकेट) दिएर प्रधानमन्त्री ओली एकतामा बाधक देखिएका हुन् ।

    सर्वाेच्च अदालतले फागुन २८ गतेपछि बनाइएको एमाले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएर कर्णालीका ४ सांसदलाई पुनर्बहालीको आदेश दिएको थियो । यसबाट एमाले एक हुने सम्भावना बढेको भन्दै ओली तथा माधव नेपाल समूहका नेताले आन्तरिक विवाद मिलाउन प्रयास गरिरहेका थिए । तर ओली पक्ष अदालतको आदेशविरुद्ध पुनरावलोकन हाल्न पुगेको छ ।

    अध्यक्ष ओली पक्ष अदालतमा भ्याकेटको निवेदन लिएर गएपछि नेता नेपालले आपत्ति जनाएका छन् । कर्णाली प्रदेशका सांसदमाथि विधानविपरीत गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि भ्याकेटमा जाने निर्णय गरेर पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रष्ट बुझ्न सकिने टिप्पणी नेपालले गरेका छन् ।

    ‘स्थायी कमिटीका नेतामाथि कथित कारवाही, फेरि उहाँहरूसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । पार्टी एकता बचाउन अधिकतम लचिलो भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो,’ वरिष्ठ नेता नेपालले भने, ‘सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपन्थी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कत जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयास विरुद्धको कुन रूपमा लागेको छ, सहजै देख्न सकिन्छ । असल नियतका साथ गरिएका अनौपचारिक संवादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरु र एकताविरोधी तत्वहरुसँग सावधान हुन सबैको ध्यानाकर्षण गराउँछु ।’

    पुनरावलोकन निवेदन दिएपछि ओलीलाई भेटेर नेपाल पक्षका नेताले असन्तुष्टि जनाएका छन् । आईतवार राति नेपाल समूहका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र भीम आचार्यले बालुवाटारमा ओलीलाई भेटेर पार्टी एकता नभए नेपालमा कम्युनिष्टको भविष्य अन्योलमा पर्ने र त्यसको सबै दोष ओलीलाई लाग्ने भन्दै चेतावनी दिए ।

    ‘विवाद मिलाउने भन्ने, छलफल पनि गर्ने, अलमल्याउने अनि भ्याकेटमा पनि जाने, यसले राम्रो गरेन,’ भेटमा उनीहरुले भने । संसद् विघटनपछि नै अहिलको समस्या आएको पनि उनीहरुले बताएका छन् ।

    ‘संसद् विघटन नगरेको भए अदालतमा रिट जाँदैनथ्यो । रिट नगएको भए हस्ताक्षरको कुरा आउँदैनथ्यो । त्यसकारण यसमा दुबै पक्षले गल्ती महसूस गर्नुपर्छ तर सबैभन्दा पहिला अध्यक्ष भएका कारण तपाईं (ओली) ले पार्टी मिलाउने काम गर्नुपथ्र्यो । भ्याकेटमा गएर तपाईंले पार्टीलाई विभाजनतर्फ धकेल्नुभयो,’ नेपाल पक्षका नेताले ओलीसँग भने । उनीहरूले अहिले जुन शक्तिले बोकेको छ त्यो शक्ति स्थायी होइन भन्दै एमाले एकता नै सबैभन्दा बलियो शक्ति भएको बताएका थिए ।

    ‘हाल तपाईंलाई जुन शक्तिले साथ दिएको छ त्यो स्थायी होइन, पार्टी एकता नै स्थायी शक्ति हो । यसैमा तपाईंको र पार्टीको हित हुनेछ । इतिहासले दोष अर्कोलाई थुपारेर तपाईंलाई माफी दिँदैन,’ नेपाल पक्षका नेताहरुले ओलीलाई भनेका थिए । उनीहरूको कुरा सुनेपछि ओलीले सकेसम्म प्रयास गर्ने बताएको स्रोतले जनाएको छ ।

    आईतबार ओलीलाई भेटेका उनीहरूले सोमवार ५ घण्टाभन्दा बढी समय नेता नेपालसँग कुराकानी गरेका थिए । ओलीसँगको भेटबारे पनि उनीहरुले जानकारी गराएका थिए । ओली र नेपाल दुबैलाई भेटेर पार्टी एकता कायम गर्न आग्रह गरेको नेपाल पक्षका नेता भीम आचार्यले स्वीकार गरे ।

    ‘हामीले दुबै नेतालाई भेटेर विवाद मिलाउन आग्रह गरेका छौं । अनौपचारिक छलफलमा भएका विषय पनि जानकारी गराएका छौं तर अदालतको निर्णयविरुद्ध भ्याकेटको निवेदन लिएर जाने कुरा गलत भयो । एकता प्रक्रिया आत्मसमर्पणको शैलीमा हुँदैन भनेर पनि दुबै नेतालाई भनेका छौं,’ आचार्यले भने ।

    ओली पक्ष भ्याकेटमा गएपछि पार्टी एकता झनै पर धकेलिएको सोही समूहका केही नेताको बुझाइ रहेको छ । ‘अदालतले हामीलाई एकताको सन्देश दियो । भ्याकेटमा नजाऔं भनेका थियौं तर उहाँहरूले मान्नुभएन । एमाले एकतामा कठिन समय आएको छ,’ ओली पक्षका एक नेताले भने ।

    भ्याकेटका कारण नेपाल पक्ष सशंकित भएपछि सोमवार दिउँसो ओली पक्षका नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जालमा पार्टी एकता प्रायः असफल भएको बताएका थिए । ‘एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेका कमरेडहरु नै थाके कि के हो ? खिचडी पाक्ने त हो/होइन, चुल्हो धुवाँएको पनि देखिएन कि असारे झरीमा झुर्का भेटिएन ? अदालतमा बुझाएको सही फिर्ता लिने, जेठ ३ गतेअघिको बैठक बस्ने । त्यो नमान्ने भए भो छोड्दिम्, झुर्का खोज्ने र टाउको दुखुन्जेल ढुंग्रो फुक्ने काम,’ नेता बाँस्कोटाले लेखे ।

    पछिल्लो पटक दुबै पक्षका नेताहरुले पार्टी एकताका लागि दर्जनौं पटक अनौपचारिक बैठक गरेका छन् । सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, घनश्याम भुसाल र भीम आचार्यले अनौपचारिक बैठकहरु बसेर माथिदेखि तल्लो तहसम्म विवाद मिलाउने विषयमा मस्यौदासमेत बनाएर छलफल गरेका छन् ।

    स्रोतका अनुसार दुबै तर्फका नेताले मंगलवार मस्यौदाको अध्ययन गर्नेछन् । बुधवारदेखि सघन छलफल गर्ने सहमति भएको छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend