काठमाडौं – नेकपा विभाजनपछि विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदै आएका नेकपा माओवादी केन्द्रका पूर्व नेता प्रभू साह र ओली बीचको सम्बन्ध चिसिँदै गएको छ ।
हिजोका दिनसम्म प्रधानमन्त्री ओलीका अति प्रिय रहेका प्रभू साह आज किन एकाएक अप्रिय भए ? आखिर के भयो त्यस्तो कि मधेशका एक सशक्त नेताको रूपमा चिनिएका प्रभू साह र प्रधानमन्त्री ओलीको सम्बन्धमा दरार आयो ?
सर्वोच्च अदालतले नेकपाको एकतालाई बदर गरेर एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा मतभेद बढ्न थालेको देखिएको छ ।
स्रोतका अनुसार प्रभू साहले नेकपाकै राजनीतिक वैचारिक कार्यदिशाको निरन्तरता हुनुपर्ने अर्थात् जनताको बहुदलीय जनवाद नभई जनताको जनवाद सहितको राजनीतिक वैचारिक कार्यदिशा हुनुपर्ने, एकताकै भाव झल्किने गरी पार्टीको नयाँ नामाकरण हुनुपर्ने, पार्टीको सांगठनिक गतिविधि पनि एकताकै भाव अनुरुप हुनुपर्ने अर्थात् पार्टीको आगामी महाधिवेशन पनि एकताकै महाधिवेशन गर्नुपर्ने जस्ता माग राख्दै आएका थिए, जसलाई केपी ओलीले मन पराएका थिएनन् ।
यी मागहरूका विषयमा केपी ओली र प्रभू साहबीच पटक–पटक वार्ता समेत भयो । कतिपय वार्तामा रामबहादुर थापा ‘बादल’ र टोपबहादुर रायमाझी सहितका माओवादी नेताहरूको पनि सहभागिता रहेको थियो तर प्रगति भने खासै हुन सकेन । आफ्नो माग ठोस सम्बोधन नहुँदासम्म अगाडि बढ्न नसक्ने अडान प्रभू साहको रहेको छ ।
प्रधानमन्त्री लगायतका एमाले नेताहरूले प्रभू साहलाई पटक–पटक फकाउने प्रयास गरे तापनि साह भने टसमस भएनन् । प्रधानमन्त्री ओली निकट स्रोतले भन्यो, ‘एमाले ब्युँतिएपछि पार्टीको निर्णय पुस्तिकामा प्रभू साहले हालसम्म पनि हस्ताक्षर गर्न नमानेपछि प्रधानमन्त्री ओली झन् क्रुद्ध हुनुभयो ।’
स्रोतका अनुसार एमाले पक्षबाट धेरै लचकताका साथ नेताहरूले भनेका थिए, ‘तपाईंहरूको कुरा जायज छ । यो नेकपाकै निरन्तरता हो, अदालतको बाध्यात्मक निर्णयले मात्र हामीले नेकपा एमाले भन्न बाध्य भएका हौं । अहिले नाम फेर्ने हो भने माधव नेपाल समूहले पनि आफूलाई एमालेकै रूपमा प्रस्तुत गर्ने सम्भावनालाई विचार गरेर एमाले भन्न बाध्य छौं । जहाँसम्म जबजको कुरा हो यो त प्रचण्डले समेत मानिसकेको र हिजो उहाँको फेस–सेभिङको लागि मात्र हामीले जनताको जनवाद भनेका थियौं । त्यसैले यस्तो विषयमा अविश्वास नगर्न माओवादी पक्षलाई बुझाउने कोसिस नगरेको पनि हैन, यति गर्दा पनि न भए हामी के गर्न सक्छौं ?’ आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।