काठमाडौं – नेकपा एमालेमा २०७५ जेठ २ गते फर्किने विषयमा मौखिक सहमति जुटेको छ ।
एकताका लागि अनौपचारिक वार्तामा संस्थापन र माधव नेपाल पक्षका नेताहरूबीच भएको निरन्तर संवाद सहमति नजिक पुगेको हो ।
नेपाल पक्षीय नेता भीम आचार्यले २०७५ जेठ २ गतेमा सबै संरचना जाने विषयमा मौखिक सहमति जुटेको बताए । ‘कुनै धाँधली भएन भने अब पार्टी विभाजनबाट जोगिन्छ होला,’ उनले भने, ‘यसलाई मिल्ने भाषामा कसरी लिपिबद्ध गर्ने छलफल भइरहेको छ ।’
आचार्यले सहमति टिक्ने/नटिक्नेमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको इमान्दारीमा निर्भर रहने बताएका छन् । शर्त राख्ने कुराले पनि निष्कर्षमा पुग्न केही ढिलाइ भइरहेको उनले बताए ।
सर्वोच्चको मुद्दा, २०७५ जेठ ३ गते थपिएका ३८ केन्द्रीय सदस्य, २०७७ फागुन २८ गते थपिएका माओवादी केन्द्रबाट आएका २३ नेताको विषयबारे सहमति जुट्न बाँकी रहेको छ । २०७५ जेठ २ गतेसम्म एमालेमा २०३ केन्द्रीय सदस्य रहेका थिए ।
नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणमा २४१ सदस्य पुर्याउन जेठ ३ गते केन्द्रीय सदस्य थपिएका थिए । त्यसमा माओवादीबाट २०० गरी ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको थियो ।
नेकपा एमाले र माओवादी केन्द्र एकता भंग भएपछि अध्यक्ष केपी शर्मा ओलीले २०७७ फागुन २८ गते रामबहादुर थापा ‘बादल’सहित २३ जना थपेर २६४ सदस्यीय केन्द्रीय समिति पुर्याएका थिए । त्यसमा अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज गरेर महाधिवेशन आयोजक समिति बनाएका थिए ।
आचार्यले अदालतको मुद्दाको विषय फिर्ता हुन गाह्रो रहेको बताएका छन् । ओली पक्षको मुख्य अडान यसमै छ । नेपाल पक्षका २३ प्रतिनिधिसभा सदस्यले सर्वोच्च अदालतमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन रिट निवेदन दिएका छन् । उनीहरुले अदालतमै पुगेर सनाखत गरेका हुन् ।
संस्थापन पक्षका नेता सुवासचन्द्र नेम्वाङले छलफल निरन्तर जारी रहेको बताएका छन् । ‘हामी निरन्तर संवादमा छांै । निष्कर्षमा पुगिसकेको छैन,’ उनले भने, ‘निष्कर्षमा पुर्याउनुपर्छ भनेर लागिरहेका छौं ।’ स्रोतका अनुसार संवादलाई निष्कर्षमा पुर्याएर केही दिनभित्रै संयुक्त बैठक आयोजना गर्ने तयारी जारी छ ।
संस्थापन पक्षका नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल तथा नेपाल पक्षका आचार्यसहित सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई एकताको संवाद गरिरहेका छन् ।
उनीहरुकै वार्ता र छलफलपछि प्रदेशमा एमाले एकता देखिन थालेको छ । प्रदेश १, बागमती र लुम्बनी प्रदेशमा नीति तथा कार्यक्रम पास भएको छ । गण्डकी प्रदेशमा पनि एकताबद्ध भएका छन् ।
शुक्रवार पनि दुबै पक्षका नेताबीच छलफल भएको छ । वार्तामा संस्थापन पक्षबाट सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल थिए । नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट रहेका थिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।