काठमाडौं – नेकपा एमालेभित्र विवाद चर्किएपछि माधवकुमार नेपाल र भीम रावल सहितका नेतालाई पार्टीबाट निष्कासन गरिएको थियो । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बसेको एमाले बैठकले निष्कासनको निर्णय गरेको थियो ।
तर अब नेता भीम रावल माधवकुमार नेपाल पक्षको वार्ता कार्यदलबाट समेत ‘आउट’ भएको संकेत देखिएको छ । एमाले विवाद मिलाउन ओली पक्षसँग भइरहेका वार्तामा नेपाल पक्षबाट भीम रावल सहभागी हुने गरेका छैनन् ।
ओली पक्षसँग वार्ता गर्न नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, भीम आचार्य, योगेश भट्टराई र गोकर्ण विष्ट सहभागी हुने गरेका छन् । पहिला कार्यदलमा नरहेका भीम आचार्य कार्यदलमा घुसेका छन् भने भीम रावललाई ‘आउट’ गरिएको छ । नेता रावलले ओलीको कडा आलोचना गर्छन् ।
नेपाल पक्षसँगको छलफलमा ओली पक्षबाट सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली सहभागी हुने गरेका छन् ।
पार्टीभित्रको विवाद मिलाउने सन्दर्भमै आज बिहीबार समेत एमाले कार्यदलको बैठक बस्दैछ । ललितपुरको समिट होलटमा बस्ने कार्यदलको बैठकमा एमालेको विवाद समाधानका विषयमा छलफल हुन लागेको स्रोतले जनाएको छ ।
सर्वोच्च अदालतले ओलीले गठन गरेको दशौं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि पार्टी भित्रको विवाद समाधानका लागि कार्यदलमा रहेका दुबै पक्षका नेताहरु सक्रिय रहेका छन् ।
अध्यक्ष ओलीले २०७५ जेठ ३ गतेको अवस्थामा फर्किन तयार रहेको भन्दै पार्टी एकताका लागि अपिल जारी गरे पनि नेपाल पक्षले त्यसलाई पत्याउन सकेको थिएन । त्यसपछि एमाले विवादबारे सर्वोच्च अदालतले दशौं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि अध्यक्ष ओली र नेपाल पक्षका दोस्रो तहका नेताबीच पार्टी एकतालाई कायम गर्नेबारे छलफल हुँदै आएको छ ।
गत हप्ताको मंगलवार समेत नेपाल पक्षबाट कार्यदलको नेतृत्व गरेका भीम रावलबाहेक दुबै पक्षबाट कार्यदलमा प्रतिनिधित्व गर्ने नेताबीच समिट होटलमै वार्ता भएको थियो । पार्टीबाट निष्कासन गरिएपछि भीम रावल कार्यदलका बैठकबाट समेत ‘आउट’ भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।