काठमाडौं – नेकपा एमालेका पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्वस्थ भएर उपचारका लागि भारतको नयाँदिल्ली पुगेका छन् । खनालको मिर्गाैलामा समस्या देखिएपछि थप उपचारका लागि दिल्ली पठाइएको छ तर नेकपा एमालेभित्र उनीमाथि घिनलाग्दो राजनीति भइरहेको छ ।
दिल्ली जानुअघि खनालको नामबाट प्रेस वक्तव्य जारी भयो, जसका कारण एमाले नेताहरू विभाजित भएका छन् । नेताको स्वास्थ्य लाभको कामना गर्नुपर्ने बेला वादविवाद गरिरहेका छन् ।
नेता खनालले वक्तव्य जारी गरेर पार्टी एकतामा जोड दिएका बेला नेता माधव नेपाल पक्षका नेताहरूले खनालको हस्ताक्षर दुरुपयोग भएको आरोप लगाएका छन् । खनाल दिल्ली जानुअघि महासचिव ईश्वर पोखरेलले अस्पतालमै पुगेर भेटेका थिए ।
खनालको वक्तव्यपछि नेपाल पक्षीय नेताहरू जगन्नाथ खतिवडा, डा. विजय पौडेल लगायतले बिरामी नेताको नाममा हस्ताक्षर दुरुपयोग गरेर वक्तव्य निकालिएको आरोप लगाए ।
त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता गोकुल बाँस्कोटाले ट्विट गर्दै लेखे, ‘कमरेड झलनाथ खनाललाई शान्तिपूर्वक उपचार हुन देउ । उहाँलाई रोगमाथि विजय प्राप्त गर्न हौसला दिने हो । तनावपूर्ण राजनीतिमा झोस्नु सर्वथा गलत । अझ उहाँका खास मान्छे दावा गर्नेले पार्टीको प्रमुख र देशको प्रधानमन्त्री भइसकेको नेताद्वारा जारी अपिलमाथि कुन रोटी बेल्न प्रश्न खडा गरेको ? अचम्म !’
नेता अस्पतालको शय्यामा उपचार भइरहेका बेला एमालेका गुटउपगुट वक्तव्यको आधिकारिकतामा विवाद गरिरहेका छन् । सामान्य मानवता समेत गुमाएर एमालेभित्र घटिया राजनीति भइरहेको छ । नेता बिरामी पर्दा समेत एमाले नेताहरूले गुटीय झगडा बिर्सिएका छैनन् ।
नयाँदिल्लीको अपोलो अस्पतालमा उपचार गराइरहेका नेता खनाललाई भारतका लागि नेपाल राजदूत निलाम्बर आचार्यले भेटेर स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।