काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बनेको ३ वर्षभन्दा बढी भइसक्यो । तर एमाले सरकारले जनतालाई सन्तोषजनक काम देखाउन सकेको छैन ।
एमाले सरकारले राम्ररी काम नगर्दा जनताले ज्यानै जोगाउनुपर्ने अवस्था छ । कोरोना भाइरस संक्रमितले उपचार नपाउँदा होस् वा प्राकृतिक विपत्तिमा नागरिकले ज्यान गुमाउँदा होस्, एमाले सरकारले पूर्व तयारी गर्न सिन्को नभाँच्ने र जनता मरेपछि श्रद्धाञ्जलि दिएर बस्ने पारा देखाएको छ ।
बुधबार नेकपा एमालेका प्रवक्ता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले प्रेस वक्तव्य जारी गर्दै सिन्धुपाल्चोक लगायत जिल्लामा प्राकृतिक विपद्बाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
तर जिल्लास्थित विपद् व्यवस्थापन समितिले सम्भावित जोखिम क्षेत्र पहिचान गरेर जोखिम व्यवस्थापनका लागि कार्ययोजना बनाई सरकारलाई बजेट माग्दा समेत बजेट नदिएको र पूर्व तयारी नगरेको कारण अहिले विपद्ले जनधनको ठूलो क्षति गरेको छ । बजेट नदिएर पूर्व तयारी नगरी जोखिमलाई पर्खिरहने र निम्तो दिइराख्ने सरकार सम्हालेको एमाले पार्टी अहिले मृतकप्रति श्रद्धाञ्जलि दिएर बसेको छ ।
प्रवक्ता ज्ञवालीले विपद्मा ज्यान गुमाएका मृतकका परिवारका लागि राहत उपलब्ध गराउन, बेपत्ताको खोजी गर्न र बाढीले बेघरबार बनाएका परिवारका लागि अस्थायी बसोबासको प्रबन्ध गर्न सरकारसँग आग्रह समेत गरेका छन् ।
ओली सरकारले पूर्व तयारी र सावधानी नअपनाउँदा हरेक वर्ष प्राकृतिक विपद्ले क्षति पुर्याउने गरेको छ । देशभर बाढी, पहिरोका जोखिमयुक्त क्षेत्र पहिचान भएका, बस्ती स्थानान्तरण गर्नुपर्ने क्षेत्र समेत पहिचान भएका बेला सरकारले कुनै योजना कार्यान्वयन नगर्दा क्षति बढी हुने गरेको छ ।
बाढी पहिरोका कारण सिन्धुपाल्चोक, मनाङ, म्याग्दी, गुल्मी, रुपन्देही, पाल्पा, बागलुङ, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), गोरखा, चितवन, लमजुङलगायत जिल्ला प्रभावित बनेका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।