काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी देशभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर असंवैधानिक गतिविधिमा संलग्न भएको आरोपमा आलोचना हुँदै आएको छ । पहिलोपटक गरिएको प्रतिनिधिसभा विघटनलाई त सर्वाेच्च अदालतले नै असंवैधानिक भनिदिएको थियो ।
पछिल्लोपटक कार्यकारी प्रधानमन्त्रीले खेल्नुपर्ने भूमिका राष्ट्रपति भण्डारीले खेल्दै अन्तर्राष्ट्रिय समुदायसँग खोप मागेको विषय बहसमा आयो । कतिपयले राष्ट्रपतिको अतिरिक्त सक्रियताको विरोध र आलोचना गरे ।
के राष्ट्रपति भण्डारीले सक्रियता देखाएर नेपालमा कोरोना भाइरस संक्रमण विरुद्धको खोप आउने भयो त ? राष्ट्रपति भण्डारीको अतिरिक्त सक्रियतालाई अन्तर्राष्ट्रिय झड्का लागेको छ ।
राष्ट्रपति भण्डारीकै सक्रियतामा भर परेर तत्कालीन परराष्ट्रपति प्रदिप ज्ञवालीले जेठ १४ गते १५ दिनभित्रै खोपमा ‘ब्रेक थ्रू’ हुने अभिव्यक्ति दिएका थिए । तर यसबीच मन्त्री नै पदमुक्त भइसके, उनले दिएको समयसीमा गुज्रिसक्यो तर खोपमा कुनै ब्रेक थ्रू भएको छैन ।
खोप आउनु त कहाँ हो कहाँ ? राष्ट्रपति भण्डारीले विभिन्न देशका राष्ट्रप्रमुखलाई गरेको उच्चस्तरीय पत्राचारको जवाफ समेत आएको छैन ।
पछिल्लोपटक मन्त्री बनेका स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङ कोरोना विरुद्धको खोप खरिद गर्ने कार्य प्रक्रियामै रहेको बताइरहेका छन् । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार विदेशबाट आवश्यक मात्रामा खोप आउनेबारे कुनै प्रगति भएको छैन ।
राष्ट्रपति भण्डारीले भारत, अमेरिका र रुसका समकक्षी एवं बेलायतकी महारानी एलिजावेथ द्वितीय समेतलाई खोपका लागि आग्रह गर्दै पत्र लेखेकी थिइन् । तर ती देशबाट पत्र प्राप्त भएको जवाफ मात्रै आएको र खोप उपलब्ध हुनेबारे कुनै जवाफ नआएको स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।