आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेभित्रका यी हर्कतले सभापति शेरबहादुर देउवा झस्किए !

एमालेभित्रका यी हर्कतले सभापति शेरबहादुर देउवा झस्किए !

  • मिडिया डबली
  • मंगलवार, आषाढ १ २०७८

  • 5.6K
    SHARES

  • एमालेभित्रका यी हर्कतले सभापति शेरबहादुर देउवा झस्किए !

    काठमाडौं – नेकपा एमाले भित्रको विवाद चर्किंदै फुटको संघारमा पुगेको भए पनि संस्थापन पक्ष र असन्तुष्ट पक्ष दुबै संयमित हुन पुग्दा पार्टी एकजुट हुने संकेत देखिएको छ ।

    पछिल्ला दिनमा दुबै पक्षका शीर्ष तथा दोस्रो तहका नेताबीच भइरहेको सघन छलफल र वार्ताले एमाले एकतालाई सशक्त बनाउँदै लगिरहेको नेताहरुले जनाएका छन् ।

    पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूह र असन्तुष्ट माधवकुमार नेपाल गरी दुबै समूह पार्टीको २०७५ जेठ २ गतेको अवस्थाको संरचनासहित स्थायी कमिटी बैठक बसाउन सहमत देखिएका छन् । स्थायी कमिटी हँुदै केन्द्रीय कमिटीमार्फत पार्टीमा देखिएको विवाद समाधान गर्दै एकता कायम गर्नुपर्नेमा दुबै पक्षका अधिकांश नेता सहमत भएकाले पार्टी अब एकजुट हुने दावी युवा नेताले गरेका छन् ।

    दुबै समूह र अर्का नेता बामदेव गौतम लगायतको सहमतिमा छिट्टै स्थायी कमिटीको बैठक बोलाएर सहमतिको खाका कोर्ने तयारी गरिएको एमाले उच्च स्रोतले जानकारी दिएको छ । एमाले स्रोतका अनुसार जेठ २ गतेकै संरचनाअनुसार स्थायी कमिटीको बैठक बोलाउने र विवादित अन्य विषयमा बैठकबाटै समाधान खोज्ने सहमतिनजिक ओली, नेपाल र गौतम पुगेका हुन् ।

    तीनै समूह जेठ २ गतेमा फर्किन सहमत भएपछि बैठक मिति तोकेर बोलाउने विषयमा आन्तरिक गृहकार्य भइरहेको छ । पछिल्ला दिनमा दुबै पक्षका नेताहरु आपसी आरोप–प्रत्यारोप र वादविवादमा उत्रिएका छैनन् । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा समेत दुबै पक्षका एमाले नेता एकजुट भई केन्द्रमा पार्टी मिलाउन दबाब समेत दिएका छन् ।

    प्रदेशको एकताले केन्द्रमा शीर्ष नेतृत्वलाई पार्टी एकजुट राख्न दबाब परेको छ । ‘सर्वोच्च अदालतको निर्णयले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि अध्यक्ष ओली जेठ २ गतेमा फर्किन तयार भएका थिए । त्यसो त अध्यक्ष ओलीले त्यसअघि नै आफूहरु जेठ २ गतेमा फर्कन तयार रहेको सन्देशसहित ६ बुँदे एकता प्रस्ताव अघि सारेका थिए । नेपाल समूहको मुख्य माग नै जेठ २ गतेमा फर्किने थियो, अब सर्वोच्चले समेत बाटो खोलिदिएकाले विवाद गर्नुको अर्थ छैन्,’ एमालेका एक नेताले भने, ‘बामदेवजीले जेठ २ गतेकै स्थायी कमिटी बैठक बसेर समस्या समाधानका लागि अपिलसमेत गरेकाले ३ वटै समूह सहमतिनजिक पुगेका छन् ।’

    महाधिवेशन आयोजक कमिटीका निर्णय खारेजसँगै पछिल्लो समय एमाले नेतृत्वको सरकार रहेको प्रदेशमा ओली र नेपाल समूह एकजुट हुनुले समेत शीर्ष नेतालाई मिल्न बाध्य बनाएको छ ।

    प्रदेश १, बाग्मती प्रदेश, लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको प्रदेश सरकार रहेको छ । ती प्रदेशमा ओली र नेपाल समूह एकजुट छन् । गण्डकी प्रदेशमा एमालेकै सरकार थियो ।

    पछिल्लो समय कांग्रेस नेतृत्वमा गण्डकीमा सरकार बनेको छ । गण्डकीमा एमालेको सरकार जोगाउन ओली र नेपाल समूह एकजुट नै थिए तर सरकार जोगाउन सकेनन् ।

    कर्णालीका ४ सांसदलाई एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको निर्णयका आधारमा कारबाही गरिएको थियो तर कारबाहीलाई सर्वोच्चले मान्यता नदिएपछि प्रदेशस्तरबाटै एमाले एकताका लागि दबाब सुरू भएको हो । शीर्ष नेताहरुले समेत अन्य विवादित विषय थाँती राख्दै बैठकबाटै समस्या समाधान गर्न सहमत भएका छन् ।

    यसअघि प्रदेशमा नै असन्तुष्ट बनेका केन्द्रीय तहका नेताहरू भीम आचार्य, अष्टलक्ष्मी शाक्य लगायत पार्टी एकताको पक्षमा देखिएका छन् ।

    प्रदेशमा पार्टीलाई एकजुट राख्न पछिल्लो समय नेत्री शाक्य र नेता आचार्यको महत्त्वपूर्ण भूमिका रहेको कार्यकर्ताको विश्लेषण रहेको छ । पछिल्लो समय एमाले विवाद मिलाउन एमालेका दर्जन बढी दोस्रो पुस्ताका नेता सक्रिय रहँदै आएका छन् । उनीहरुले समेत शीर्ष नेतालाई दबाब दिँदै मिल्न बाध्य बनाएका छन् । जेठ २ गतेकै कमिटीको संरचनाअनुसार स्थायी कमिटीको बैठक बस्ने भएपछि नेपाल र गौतम समूहको माग पूरा हुनेछ ।

    तर माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका नेताहरुको हकमा सोही बैठक वा दोस्रो बैठकबाट पार्टीमा जिम्मेवारी दिने विषयमा निर्णय गरी समेट्ने गरी अघि बढ्ने विषयमा नेताहरुबीच छलफल चलिरहेको छ । एमाले उपमहासचिव विष्णु पौडेल सोमवार उपाध्यक्ष गौतमलाई भेट्न भैंसेपाटीस्थित निवासमा पुगेका थिए ।

    करीब ४ घण्टा लामो समय छलफल गरेका गौतम र पौडेलबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले बताए । एमाले स्रोतका अनुसार आ–आफ्नो अडानमा रहेका नेताहरुको अहिलेको अवस्थामा स्थायी कमिटी बैठक कसरी बोलाउन सकिन्छ भन्ने विषयमा छलफल भएको छ । यसअघि पौडेलले वरिष्ठ नेता नेपालसँग पनि छलफल गरेका थिए ।

    यसअघि ओली र नेपालले छुट्टाछुटै विभिन्न ६ बुँदे प्रस्ताव गर्दै एकताका लागि आह्वान गरेका थिए । तर एकअर्काको प्रस्ताव अस्वीकार गर्दै आएका थिए । विवादकैबीच ओलीलाई भेटेका गौतमले जेठ २ गतेको संरचना अनुसारको स्थायी कमिटीको बैठक बोलाएर त्यहीँबाट समस्या समाधान गर्न अपिल गरेका छन् ।

    एमाले वरिष्ठ नेता माधव नेपाल भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमवार नेपाल निवास कोटेश्वर पुगेका छन् । सोमवार साँझ उनीहरुले नेपाल निवास पुगेर पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका छन् ।

    एमालेमा ओली र नेपाल मिल्ने संकेत पाएका देउवा प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार हुन् । नेपाल समूहका सांसदको समेत प्रस्तावमा प्रधानमन्त्रीका उम्मेदवार बनेका देउवा एमाले एकता भएपछि आफ्नो योजना विफल हुने देखेपछि नेपाललाई भेट्न कोटेश्वर पुगेका स्रोतको दाबी रहेको छ ।

    देउवाले नेता नेपाल समूहले पछिल्लो समय अख्तियार गरेको रणनीतिले गठबन्धन कमजोर हुनसक्ने भन्दै शंका व्यक्त गरेको बताइएको छ । देउवाले नेपालसँग उनको पछिल्लो पोजिसनबारे जिज्ञासा राखेको स्रोतको दाबी छ ।

    एमाले एकजुट भएको खण्डमा आफू प्रधानमन्त्री बन्ने सम्भावना सकिने भन्दै देउवा सशंकित देखिएको स्रोतले जानकारी दियो । तर नेपाल र देउवाबीच के–के कुराकानी भयो खुलाइएको छैन ।

    देउवालाई संविधानको धारा ७६(५) अनुसारको प्रधानमन्त्री बनाउन एमालेको नेपाल समूहले हस्ताक्षर गरेका छन् । गत शनिबार देउवा, नेपालसहित ५ जना पूर्व प्रधानमन्त्रीले संयुक्त विज्ञप्ति जारी गरेका थिए । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend